
पोखरा । नेपाल फोटो पत्रकार संघ, कास्की अध्यक्षमा प्रदीप पौडेल चयन भएका छन् ।
संघको पोखरामा सम्पन्न छैटौं अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
पर्वत स्थायी घर भएका अग्रज फोटो पत्रकार पौडेल हाल इमेज च्यानलका पोखरा व्यूरो प्रमुखका रुपमा कार्यरत छन् ।
डेढ दशक बढी समयदेखि छापा तथा विद्युतीय संचारमाध्यमको अनुभव सँगालेका पौडेल नेपाल प्रेस युनियन कास्की सचिव समेत हुन् ।
यस्तै, संघको कार्यसमिति उपाध्यक्षमा नारायणप्रसाद आचार्य, सचिवमा दुर्गाप्रसाद पौडेल, सहसचिवमा उमेश पुन र कोषाध्यक्षमा सुरेश कुमार श्रेष्ठ (सुरज) छन् ।
सदस्यमा अशेष शाक्य र सञ्जय शाक्य चयन भए । सल्लाहकारमा निवर्तमान अध्यक्ष इन्द्रप्रसाद पौडेल छन् ।
फोटो पत्रकार संघ जनआन्दोलन २०६२/०६३ को क्रममा अफ्ठ्यारो समयमा स्थापना भएको हो । आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट धरपकड भएपछि यहाँका फोटो पत्रकार संगठित भएका थिए ।
संघले जनआन्दोलन पछि आन्दोलनको वृत्तचित्र, फोटो प्रदर्शनी गरेको थियो । संघको हालसम्म घनश्याम पौडेल, कृष्णमणि बराल, ओम लामा र इन्द्रप्रसाद पौडेलले नेतृत्व सम्हालिसकेका छन् ।
फोटो पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष राम गुरुङको प्रमुख आतिथ्यमा भएको अधिवेशन संघ अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको हो ।
अधिवेशनले अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्