२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


अन्नपूर्ण आधार शिविरतर्फ उडेका दुई हेलिकप्टर एक्कासी खेल मैदानमा अवतरण


0
Shares

पोखरा । पोखराको मौसममा आएको खराबीले दुई हेलिकप्टरलाई खेल मैदानमा अवतरण गराइएको छ ।

पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका एयर डाइनेष्टी र सिम्रिक एयरको हेलिकप्टर पोखरा विमानस्थल फर्कने क्रममा मौसममा अकस्मात खराबी आउँदा आज(बुधबार) बिहान १०ः१० बजेको समयमा पोखरा महानगरपालिका–१९ लामाचौरस्थित सेती नदी किनारको गोस्तेघाट खेल मैदानमा अवतरण गरिएको छ ।

बिहान आधार शिविरतर्फ उडानको क्रममा मौसम अनुकूल रहेपनि फर्कने क्रममा विमानस्थल हुस्सुले ढाकेपछि अवतरण हुन नसकेको हो । ‘‘पोखरा विमानस्थल हुस्सुको कारणले बन्द हुँदा टावरसँगको सम्पर्कमा दुई हेलिकप्टर खेल मैदानमा अवतरण गर्नुपरेको बताइएको छ ।

मौसम खुल्ने वित्तिकै उड्ने तयारीमा छन्’’ पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ अधिकारीले भने । मौसम सफा नहुँदा आज पोखरा विमानस्थलबाट आज बिहान ११ बजेसम्म कुनै पनि उडान तथा अवतरण हुन सकेका छैनन् । रासस