१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


कांग्रेसका ५० नेताले विदा लिए हुन्छ


0
Shares

-युवराज गौतम

नेपाली कांग्रेस नेपालको राजनीतिक इतिहासमा एक सतीशाल हो । निरंकुशताका विरुद्ध लडिरहने, नेपाली समाजमा प्रजातान्त्रिक संस्कारको जग बसाल्ने साथै शान्ति र क्रान्तिको नेतृत्व गरेको कांग्रेसको इतिहास गर्विलो छ । राणा र राजासँग नहारेको कांग्रेस नेपालका कम्युनिष्टहरुलाई लोकतान्त्रिक मुलधारमा ल्याउने प्रक्रियामा पनि नेतृत्वदायी भूमिकामा छ । विचार र सिद्धान्तका हिसाबले कांग्रेसलाई धेरै खोट लाउने ठाउँ छैन् । परम्परा र यथास्थितीवादका रुपमा आफूलाई उभ्याइरहने कांग्रेसका नेताहरुलाई चाहीं प्रशस्त आलोचना गर्नुपर्ने देखिन्छ । आलोचना मात्र होइन अब उहाँहरुको विदाइ नै कांग्रेस सुधार्ने अन्तिम विकल्प बन्न सक्ने अवस्था आइसकेको छ ।

पछिल्लो साता कांग्रेसभित्र देखिएको विवादले निकै चर्चा पायो । १४ औं महाधिवेशन गर्ने र भातृ संगठनहरुलाई नयाँ नेतृत्व दिने विषय पेचिलो बन्न पुग्यो । यो विवाद नेतृत्वकर्ता नेताहरुको हो । एजेन्डा र भागवन्डा नमिलेपछि उत्पन्न विवाद साम्य भएको भनिए पनि विवादका अवशेषहरु जिवित नै छन् । राम्रा र सक्षमलाई पाखा लगाउँदै जाने र आफ्ना र असक्षम ‘यस म्यान’हरुलाई चेप्दै जाने कांग्रेसको दिर्घ रोग हो । यो रोग अन्य पार्टीहरुमा पनि छ । तर कांग्रेसमा जस्तो गडिसकेको रोग उनीहरुमा छैन् । तर कांग्रेसभित्रको पछिल्लो विवादको चुरो उही बृद्ध नेताहरुको अडान र संगठनलाई सँधै एउटै घेरावन्दी र कोटरीमा सिमित राख्न चाहनेहरुमा घुम्न पुग्यो । घुमिरहेको छ । 

कांग्रेसको अर्को समस्या भनेको नयाँ नेता उत्पादन गर्ने कारखाना(भातृ संगठन)हरुलाई चलायमान बनाउन नसक्नु हो । कपाल फुलेकाहरुले युवा संगठनहरुको नेतृत्व खोजिरहनु, नेतृत्वका लागि दाईहरुको ढोका चिहाइरहनु र पद ओगटीरहनु कांग्रेसीजनहरुका लागि दुर्भाग्य हो । कुनै समय दुई तिहाइको सरकारल चलाएको, बर्षौंसम्म सत्ताको बागडोर सम्हालेको पार्टी यतिबेला रेस्टमा छ । ‘असफल’ प्रतिपक्षको भूमिकामा छ । केही समय अघिका निर्वाचनमा लोकप्रिय मत पाएको तर खुम्चिएको अवस्थामा छ कांग्रेस । कांग्रेस खुम्चिए पनि कमजोर भने भएको छैन । मात्र नेताहरुको बौद्धिकतामा स्खलन आएको हो । ती स्खलित बौद्धिकता बोकेका नेताहरु औंलामा गन्न सकिने अवस्थामा छन् । सरदर ५० त्यस्ता नेताहरुले कांग्रेसको सक्रिय राजनीतिबाट विश्राम लिनुपर्छ ।

निर्वाचनबाट प्राप्त परिणामलाई मात्र हेर्ने हो भने ६० बर्ष उमेर कटेका नेताहरु भन्दा ‘टेस्टेट’ नयाँ नेताहरुको मत परिणाम लोभलाग्दो छ । बर्षौंसम्म आफ्नो क्षेत्रबाट चुनाव जितेर आएका पाका नेताहरुको मत यसपटक लाजमर्दो अवस्थामा देखियो । यति हुँदा पनि आत्मसमिक्षा गर्ने र नयाँ नेतृत्व उत्पादन गर्नेतर्फ ति नेताहरुमा चेत देखिएन । गुटमार्फत बनेका ती पाका नेताहरु कहिल्यै राजनेता बन्न सकेनन् । बरु संगठनलाई ध्वस्त बनाएर गुट बलियो बनाउने कसरतमा लागिरहे । अहिले पनि त्यस्तै अवस्था छ । हो, गुटले विचार जन्माउँछ, नेता जन्माउछ तर राजनेता वा सिंगो संगठनको शिर उच्चो पार्ने नेता जन्माउन नसक्ने रहेछ भन्ने कांग्रेसको विगतबाट स्पष्ट छ । तर बुझेर पनि नबुझेझै गरिरहने प्रबृत्तिले कांग्रेस कमजोर अवस्था पुग्दैछ । त्यसैले हाल सक्रिय देखिएका ५० नेताले विश्राम लिएर नयाँ नेता उत्पादन र नयाँलाई जिम्मेवारी हस्तान्तरणमा लाग्नुपर्ने बेला आइसकेको छ ।

यस्तो कहिल्यै भएको थिएन 

कांग्रेसलाई जनताले सँधै माया गरे । स्वतन्त्रता, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता र खुला अर्थतन्त्रको जग बसालेको कांग्रेसलाई जनताले माया मार्न सकेनन् । कांग्रेसको अब्बल सिद्धान्तलाई मारेर नेताहरुको अधिनायवादी र परम्परागत सोचबाट जनता आक्रात बने र बनिरहेका छन् । जनताका आधारभूत आवश्यकता पूर्ति गर्नेभन्दा पनि सिमित एजेन्डामा रुमलिएको कांग्रेस चुनाव जित्न साम, दाम र दण्डभेद लगाउनुपर्छ भन्ने बाटोमा हिंड्यो ।

तर नेता र कार्यकर्तालाई इमान्दार र अनुशासित बन्नुपर्छ भनेर सिकाउन चाहेन । वि.स. २०७० मा पहिलो भएको पार्टी २०७४ मा तेस्रो अवस्थामा खुम्चियो । संभवत नेपालको इतिहासमा कांग्रेस कमजोर भएको र तेस्रो स्थानमा खुम्चिएको पहिलो घटना बन्न पुग्यो । तर चुनावी परिणामको समिक्षा भएन । कारणहरु खोज्नेतर्फ कांग्रेस लागेन । त्यसैले अब कांग्रेस सच्चिन र पहिलो पार्टी बन्न हालका(नेतृत्वमा रहेका ६० प्रतिशत) नेताले विश्राम लिनैपर्छ ।

वित्थामाको छाया सरकार

यतिबेला नेपाली कांग्रेसका अधिकांश निर्णयहरु अलमलमै छन् । पार्टीका विभागहरु पूर्णता छैन ।  भातृ संगठनहरु लथालिंग छन् । संसदमा प्रतिपक्षको भूमिका प्रभावकारी नभएको आलोचना खेपेको कांग्रेसले सरकारकै स्वरुपमा ‘छाया सरकार’ पनि गोलमाल अवस्थामा छ । छाया सरकारलाई क्रियाशिल गराउन नसक्ने नेतृत्वले कांग्रेस सुदृढ गराउन सक्दैन भन्ने उदाहरण पर्याप्त छ ।

छाया सरकारमार्फत कांग्रेसले सरकारको निगरानी गर्ने र संसदमा भूमिका प्रभावकारी बनाउने निर्णयहरु ओझेल पारेर गुटको लफडामा अल्झिरहनु सान्दर्भिक लाग्दैन । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जथाभावी काम गरेको भन्दै त्यसको प्रतिवाद र निगरानी गर्न छाया सरकार गठन गर्ने काम आफैंमा स्वागतयोग्य भएपनि गोलमाल अवस्थामा रहनु उचित लाग्दैन । सबै शक्ति संचय गर्ने र सबै अधिकार प्रधानमन्त्री कार्यालय मातहतमा राखेर हिटलर शैलीमा अघि बढेको सरकारको निगरानी गर्न कांग्रेसको छाया सरकारले शक्ति देखाउन सकेन र सकिरहेको छैन । नागरिकको मुख थुन्ने र अधिकारहरु खोस्ने किसिमका विधेयकहरुको प्रतिवाद गर्न नसक्ने छाया सरकार पनि वित्थामाको जस्तो लाग्न थालेको छ ।

नयाँले सोच्नेबेला 

राजनीतिमा मात्र होइन सबै क्षेत्रमा असल नैतिकता चाहिन्छ । अनुशासन र इमान्दारिता हुनुपर्छ । भिजन र मिसन क्लियर हुनुपर्छ । युग र समय सुहाउँदो सिद्धान्त र विचारलाई परिमार्जन गर्न सक्नुपर्छ । त्यो भन्दा पनि राजनीतिमा स्थापित हुन चाहने नेताले शैली बदल्नु जरुरी छ । यतिबेला नयाँ उदाउँदा नेताहरुको कुनै आफ्नो टिम छैन । नयाँ नेताहरु देउवा, पौडेल, कोइराला र सिटौला आदी इत्यादीमै रुमलिनु परेको छ ।

राष्ट्रिय राजनीतिमा हलचल ल्याउन सक्ने नयाँ पुस्ता नजन्मिएको होइन कांग्रेसमा । विश्वको राजनीति बुझेका, विश्व चर्चित आदर्शवान नेताहरुको विचार पढेका र समय सापेक्ष आफ्नो समाजलाई बदल्न सक्ने पुस्ता कांग्रेसले जन्माइसकेको छ । त्यसैले अब कांग्रेसले सोच्ने बेला आएको छ । सच्चिने बेला आएको छ । पुस्ता हस्तान्तरण गर्ने बेला भएको छ । नयाँलाई बागडोर सम्हाल्न दिएर पुरानाले सल्लाहकारको भूमिका लिएर विश्राम लिने बेला आएको छ । त्यसैले यतिबेला चल्तीका ५० नेताले विश्राम लिनुपर्छ । कांग्रेस सुधार्न प्रविधि र समाज बुझेका, युग सुहाउदो समाजवाद र लोकतन्त्र बुझेका पुस्ताले नेतृत्व गर्नुपर्छ ।