८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023


उखु किसानले मूल्यअनुसारको भुक्तानी पाएनन्


0
Shares

हरि शर्मा (इमेज)

नवलपरासी, साउन १६ । पश्चिम नवलपरासीका उखु किसानले सरकारले निर्धारण गरेको मूल्यअनुसारको भुक्तानी अझै पाउन सकेका छैनन् ।

उखुबापतको रकम नदिने उद्योगीलाई पक्राउ गरेर कारबाही गर्न सरकारले निर्देशन दिएपछि उद्योगीहरुले प्रतिक्विन्टल ७० रुपैयाँ कम गरेर भुक्तानी गरिरहेका छन् ।

विगतको सरकारले दिँदै आएको भ्याटबापतको रकम वर्तमान सरकारले नदिएकाले समर्थन मूल्यअनुसार भुक्तानी दिन नसकिएको उद्योगीको तर्क छ । उनीहरुले हप्तामा एकपटकमात्र किसानलाई रकम भुक्तानी गर्दछन् ।

सरकारले ०७४/०७५ का लागि उखुको प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा समर्थन मूल्य तोकेको थियो ।

तर, भ्याट रकमको बहानामा उद्योगीले किसानलाई प्रतिक्विन्टल ४६५ रुपैयाँ ९२ पैसामात्र भुक्तानी गरिरहेका हुन् ।

नवलपरासीमा बाग्मती, इन्दिरा र लुम्बिनी चिनी उद्योग सन्चालनमा छन् ।

उनीहरुले किसानलाई ४७ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको उखु उत्पादक कृषक समितिका जिल्ला अध्यक्ष उमेश यादवले जनाकारी दिए ।

यसैबीच, सरकारले निर्धारण गरेको समर्थन मूल्यअनुसार नै किसानलाई उखुबापतको रकम भुक्तानी दिन पश्चिम नवलपरासीका सांसदहरुले माग गरेका छन् ।