Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


कांग्रेस सभापति देउवाबाट वडा अधिवेशन प्रारम्भ, भक्तपुर पुगेर महेश बस्नेतलाई भने–अर्को चुनाव जितेर देखाउ

सन्दर्भः नेपाली कांग्रेस १४ औं महाधिवेशन

0
Shares

भक्तपुर, भदौं १८ । नेपाली कांग्रेसको चौंधौं महाधिवेशन अन्तर्गत सबैभन्दा तल्लो निकाय वडा तहको अधिवेशन आजबाट शुरु भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुर पुगेर वडा अधिवेशनको प्रारम्भ गर्नुभएको हो ।

देशभर एकैदिन वडा अधिवेशन गर्ने योजना पार्टीले बनाएको भए पनि क्रियाशील सदस्यको विवाद समयमा टुंग्याउन नसक्दा शुक्रबार ५६ जिल्लामा मात्रै वडा अधिवेशन हुँदैछ ।

केन्द्रीय नेतृत्व चुन्नका लािग प्रतिनिधि पठाउने तल्लो तहको ईकाइ भएकाले पनि वडा तहदेखि नै नेताहरु आफुनुकूलको नेतृत्व चुन्न देशैभर खटिएका छन् ।

यसैबीच, भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ मा वडा अधिवेशनको प्रारम्भ गर्दै सभापति देउवाले आगामी दिनमा कांग्रेस बलियो र सशक्त हुने विश्वास व्यक्त गर्नुभयो ।

भक्तपुरमा पार्टी संगठन बलियो रहेको भन्दै देउवाले एमाले नेता महेश बस्नेतलाई जिल्लाका पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन चुनौति पनि दिनुभयो ।

यसअघि, भदौ पहिलो साता बस्नेतले भक्तपुरमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई उठाए पनि आफूले सहजै जित्ने दावी गर्नुभएको थियो । त्यही सन्दर्भमा देउवाले चुनौती दिँदै भन्नुभयो, ‘बस्नेतजीले मलाई होइन, भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस् ।’

लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरी पार्टी संगठनलाई थप सशक्त बनाइने बताउँदै सभापति देउवाले महाधिवेशन सफलताका लागि एकताबद्ध भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।