प्युठान । प्युठानमा कोरोना भाइरसका कारण बन्द रहेका विद्यालयहरु खुल्ने क्रममा छन् । विद्यालय लामो समयदेखि बन्द हुँदा लाखौ विद्यार्थीको भविष्य अन्धकार बनेको भन्दै स्थानीय तहहरुले भौतिक रुपमै विद्यालय सञ्चालनमा गर्न थालेका हुन् ।
प्यूठानमा कोरोना भाइरसको संक्रमण घट्दै जान थालेपछि बिद्यालय सञ्चालनमा आएका छन् । सरकारले बिद्यालय खोल्ने अधिकार स्थानीय तहलाई दिएको छ । पछिल्लो समयमा कोरोना संक्रमण घट्दै गएपछि स्थानीय तह र विद्यालय व्यवस्थापन समितिसँग छलफल गरेर विद्यालय सञ्चालन गरेको झिमरुक गाउँपालिकाका शिक्षा प्रमुख मोहन विसी बताउनुहुन्छ ।
कोरोना भाइरसका संक्रमण घटेपनि कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा अपनाएर विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भएका हुन् । प्यूठानका ९ वटा स्थानीय तहमध्ये झिमरुक गाउँपालिका, नौबहिनी गाउँपालिका, गौमुखी गाउँपालिका, ऐरावती गाउँपालिकालगायतका स्थानीय तहले विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गरेका छन भने मल्लरानी गाउँपालिका, माण्डवी गाउँपालिकाले अनलाइन कक्षा तथा मोवाइल कक्षा सञ्चालन गरेका छन् ।
कोरोना भाइरसको संक्रमण कायमै रहेकाले विद्यालयले आलोपालो तथा विभिन्न सिफ्ट बनाएर पठनपाठन गराउन सुरु गरेका छन् । प्यूठानमा करिब ३५ हजार विद्यार्थी विभिन्न तहमा अध्ययनरत छन् । जिल्लाका दुर्गम तथा ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच नहुदाँ वैकल्पिक माध्यम प्रभावकारी हुन सकेको छैन् । तर स्वास्थ्य सावधानी अपनाएर भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गरेपछि जिल्लाका करिब ३५ हजार विद्यार्थी लाभान्वित भएका छन् ।
कोरोना भाइरसको संक्रमण कायमै रहेकाले स्वास्थ्य सावाधानीका साथै विभिन्न सिफ्ट बनाएर विद्यालय सञ्चालन गर्न आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्