Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


शेयर खरिदको विवादमा मुछिएका धितोपत्र बाेर्डका अध्यक्ष ढुंगाना निलम्बित


0
Shares

काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयर खरिदको विवादमा मुछिएका नेपाल धितोपत्र वोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्वन गर्दै सरकारले उक्त प्रकरण छानविन गर्न समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले ढुंगानालाई निलम्वन गर्दै छानबिनका लागि तीन सदस्यीय समिति गठन गरेको हो । उच्च अदालतका पूर्व न्यायधिश अनन्तराज डुम्रेको संयोजकत्वमा गठित समितिमा नेपाल कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का र विज्ञ सदस्यका रुपमा नारायणप्रसाद पौडेल रहेका छन् ।

छानबिन प्रक्रिया प्रभावित हुनसक्ने वा प्रमाण नष्ट हुनसक्ने कारण देखाउँदै ढुंगानालाई निलम्बन गरिएको हो । बुक विल्डिङ प्रक्रियाबाट सर्वसाधारणका लागि शेयर जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको १० हजार कित्ता शेयर अमेरिकामा बस्दै आएकी विवाहिता छोरी रेविका ढुंगानाका नाममा किनेको खुलासा भएपछि अर्थ मन्त्रालयले ढुंगानासंग स्पष्टीकरण सोधेको थियो ।

सोही प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेञ्जका महाप्रबन्धक चन्द्रसिंह साउदले गत साता राजिनामा दिईसकेका छन् । ढुंगानाले भने राजीनामा नदिने अडान लिदै आएका थिए । छानबिनमा दोषी देखिएमा उनीहरु कारबाहीको भागीदार हुनेछन् ।