गृष्मा राजभण्डारी
काठमाडौं । राजामहाराजाको राजकीय ठाँटबाँटबारे आम नागरिक जानकार छन् । तर, उनीहरूको खाने, खेल्ने, पढ्नेजस्ता दैनिकीबारे धेरैलाई थाहा नहुन सक्छ । नारायणहिटी दरबारमा ऐतिहासिक पुस्तकालय पनि छ ।
राजामहाराजा यो कक्षमा बसेर घण्टौं कितावमा हराउँथे । राजा वीरेन्द्रलाई त अध्ययनमा औधि रुचि थियो । यहाँभित्र देखिने पुस्तकालयको दृश्यले शासकहरूमा बौद्धिक चेतना भरपूर थियो भन्ने प्रष्ट हुन्छ ।
पुस्तकालयको दृश्य हेर्दा लाग्छ– भर्खरै मात्र कोही पढ्न छोडेर बाहिर निस्किएको छ । तर, पुस्तकको चाङमा राजपरिवार सदस्यको हात नपुगेको वर्षौं बितिसक्यो । यहाँ ऐतिहासिक, सामाजिक, राजनीतिक, आर्थिक, धार्मिक गरी सबै खाले किताव राखिएका छन् । विदेशबाट उपहारमा आएका अंग्रेजी भाषाका पुस्तक पनि संग्रहित छन् ।
खासगरी राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रका कार्यकालमा संकलित किताव पुस्तकालयमा रहेका छन् । दोलखा कक्षले पुस्तकालय हुने सौभाग्य पाएको छ । अब यसलाई ताप्लेजुङ कक्षमा समेत विस्तार गरी सर्वसाधारणका लागि पुस्तकालय खुल्ला गर्ने योजनामा संग्रहालय प्रशासन रहेको छ । यसका लागि पुस्तकको सवलीकरण गर्ने काम भइरहेको छ । ०७२ मा आएको भूकम्पले यो कक्षमा क्षति पुगेकाले पुस्तक छरपस्ट भएका छन् ।
संग्रहालय प्रशासनकाअनुसार पुस्तकको वर्गीकरण गर्ने काम भइरहेको छ । थोरै बजेट, काम धेरै भएकाले के लाई बढी प्राथमिकता दिने भन्नेमा पदाधिकारीहरूमा अलमल छ । यहाँ विश्वका चर्चित र दुर्लभ पुस्तक संग्रहित छन् । जसलाई जोगाउन त्यसैअनुसारको प्रविधि जरुरी छ । पुस्तकका श्रष्टाले राजामहाराजाका नाममा आफूले लेखेको पुस्तक समर्पण गर्ने परम्पराका कारण पनि दरबारमा यतिका विधि पुस्तक संग्रह भएको हो ।
दरबारको पुस्तकालय अब पुस्तकालय कम, संग्रहालय बढीको अवस्थामा छ । यहाँका हरेक चीजवस्तु राजामहाराजाले नेपाली जनतालाई नासोका रुपमा छोडेका बौद्धिक सम्पति हुन । त्यसैले यसलाई नमासिने सम्पदाका रुपमा संरक्षण गर्नु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्