७ भाद्र २०८२, शनिबार | Sun Aug 24 2025


लागु औषधको ट्रान्जिट प्वाइन्ट बन्दै दाङ


0
Shares

-विवेक खड्का/ ईमेज 

दाङ, पुष १ । पछिल्लो समय दाङ लागु औषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । विभिन्न पहाडी जिल्लामा उत्पादन भएको लागूऔषध दाङलाई केन्द्र बनाइ ओसारपसार गर्ने गरिएको तथ्यांकले पुष्टि गरेको हो ।

पछिल्ला केही दिनमा मात्रै दाङमा लागू औषध कारोबारमा संलग्न दर्जनभन्दा बढी व्यक्ति प्रहरी फन्दामा परेका छन् ।

यसले दाङ आगुऔषध कारोबारीहरुको अखडा बन्दै गएको देखिएको हो । पहाडी जिल्ला सल्यान, रुकुम, रोल्पा, प्युठानबाट सहज रुपमा लागुऔषध दाङ भित्र्याउन सकिने र यहाँबाट यसको कारोबार गर्न सहज हुने भएकाले दाङलाई कारोबारीहरुले ट्रान्जिटकै रुपमा उपयोग गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

लागु औषध ओसार पसारमा ट्रान्जिट प्वाइन्टको रुपमा लिएको दाङमा ठूलो मात्रामा अफिम, ब्राउन सुगर, चरेस गाँजालगायतमा लागु औषधहरु प्रहरीले बरामत गर्ने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी जनक भट्टराईले लागूऔषधको कारोबार डरलाग्दो देखिएको र भारतसम्म ओसार पसार हुने गरेको बताउँछन् ।

यसका भरिया तथा श्रमिकहरु मात्र समातिएकाले मुख्य कारोबारीसम्म पुग्न मुस्किल भएको उनको भनाइ छ । राम्रो आम्दानी हुने देखेर विपन्न र महिलाहरु कारोवार र ओसार पसारमा संलग्न हुने गरेका छन् ।

दश वर्षको अवधिमा दाङका ४ सय ५ केजी आगुऔषध बरामत भएको छ । जसमा सबैभन्दा बढी चरेस, गाँजा र ब्राउन सुगर रहेको छ ।

आर्थिक बर्ष २०७४/०७५ मा ३५ जना र गत आर्थिक वर्षमा ५८ जनालाई लागुऔषधको कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो ।

त्यस्तै चालू आर्थिक वर्षमा अहिलेसम्म साढे ४५ केजी लागु औषधसहित १६ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा राखिएको लागु औषध बरामदसम्बन्धी अभिलेखमा १० वर्षमा २८० जना आगुऔषध कारोबारीहरुलाई प्रहरीले नियन्त्रण लिएको छ ।

लागूऔषध कारोबारको ट्रान्जिट प्वाइन्ट बन्दै गरेको दाङमा यस्ता क्रियाकलाप न्यूनीकरणका लागि प्रहरीको थप सक्रियता आवश्यक देखिन्छ ।