काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिमको कारण बन्द रहेको चिडियाखाना गत साउन १ गतेदेखि सञ्चालनमा आएको छ । तर, महामारीका कारण मानिसहरू घुम्न ननिस्किनाले आम्दानी कम हुँदा चिडियाखानाका जनावरहरूलाई खाद्यान्नको व्यवस्थापन गर्न धौ–धौ परेको छ ।
सञ्चालनको मुख्य आय टिकट बिक्रीबाट हुने गरेकोमा यो श्रोत नै बन्द भएपछि चिडियाखाना समस्यामा परेको हो । वार्षिक १४ करोड आम्दानी हुने गरेको चिडियाखानामा अहिले आधा जस्तो आम्दानी घटेको चिडियाखानाकी सूचना अधिकृत लिना चालिसेले जानकारी दिनुभयो ।
२०७२ को भूकम्पपछि चिडियाखानामा भौतिक संरचनालाई ध्यान दिइए पनि कोरोनाका कारण आम्दानी बन्द भएपछि अहिले भौतिक संरचनाको काम शून्य बराबर रहेको उहाँले बताउनुभयो । उहाँले लकडाउनमा कर्मचारीको आधा पारिश्रमिक काटेर पनि जनावरहरूलाई खानेकुराको जोहो गरेको दुःखेसो पोख्नुभयो ।
सूचना अधिकारी चालिसेले विगतमा वार्षिक रूपमा चिडियाखानामा १४ करोडसम्मको आम्दानी हुने गरेको र त्यसमा जनावरलाई खुवाउनका लागि लगभग ४ करोड खर्च हुने गरेको बताउनुभयो । तर, अहिले वार्षिक रुपमा ८ करोडको हाराहारीमा पनि आम्दानी नभएको उहाँको भनाइ छ ।
अहिले चिडियाखानामा ३६ जना सदस्यहरूले कुनै एक जनावरको अभिभावकत्व लिएर सहयोग गरिरहेको र यसरी सहयोग गरे चिडियाखानाका जनावहरूलाई खाद्यान्नको अभाव नहुने सूचना अधिकारी चालिसेले बताउनुभयो । चिडियाखाना स्तनधारी ३६ प्रजातीका २९९, सरिसृप १० प्रजातीका ४८, मत्स्य १५ प्रजातीका ४१, पंक्षी ५२ प्रजातीका ६०९ वटा गरी ११३ प्रजातीका ९९७ वटा वन्यजन्तु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्