Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराई र अभिनेता क्षेत्रीको सामूहिक अन्त्येष्टि


0
Shares

काठमाडौं, मंसिर ३० । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र अभिनेता दीपक क्षेत्रीको सामूहिक अन्त्येष्टि गरिएको छ । उनीहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

बोर्डका अध्यक्ष भट्टराईको आइतबार राति ५३ वर्षको उमेरमा निधन भएको हो ।

स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई राति नै चाबहिलस्थित ओम अस्पताल पुर्‍याइएको थियो ।

अस्पताल पुग्दासम्म उनी अचेत अवस्थामा रहेको परिवारले जनाएको छ । अस्पतालले उनलाई तत्कालै मृत घोषणा गरेको थियो ।

भट्टराई र क्षेत्रीको निधनले चलचित्र क्षेत्र शोकमा परेको छ ।

अभिनेता क्षेत्रीको निधन भएको भोलिपल्टै चलचित्र विकास बोर्डको नेतृत्व सम्हालिरहेका भट्टराईकोसमेत निधनले चलचित्र क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको छ ।

क्षेत्री शनिबार सुतिरहेको अवस्थामा मृत भेटिएका थियो । उनको शव परीक्षणका लागि अस्पतालमै राखिएको थियो ।

सोमबार दिउँसो २ बजे दुवै अभिनेताको शव अन्तिम श्रद्धाञ्जलिका लागि चलचित्र विकास बोर्डमा ल्याइएको थियो ।

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

भट्टराई र क्षेत्रीको निधनप्रति प्रधानमन्त्री केपी शेर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् दुःख व्यक्त गरेका छन् ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चलचित्र विकास बोर्डमा पुगी अन्तिम श्रद्धाञ्जलि दिए ।

‘अपूरणीय क्षति’

सयौंको संख्यामा आएका चलचित्रकर्मी, अन्य क्षेत्रका कलाकार, शुभेच्छुकहरुले श्रद्धाञ्जलि दिए ।

जनसांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष खगेन्द्र राईले महासंघका केन्द्रीय सचिवालय सदस्यसमेत रहेका भट्टराईको पार्थिव शरीरमा नेकपाको झन्डा ओढाइ अन्तिम श्रद्धाञ्जलि दिए ।

अध्यक्ष राईले भट्टराईको निधनले चलचित्र क्षेत्रसँगै सिंगो सांस्कृतिक क्षेत्रमा ठूलो क्षति पुगेको बताए ।

‘उहाँ बहुआयामिक व्यक्ति हुनुहुन्थ्यो’–राईले भने–‘प्रिय व्यक्ति गुमाउनु पर्दा निकै पीडाबोध भइरहेको छ ।’

अभिनेता दिनेश डिसीले चलचित्र विकास बोर्डको अध्यक्ष भइसकेपछि भट्टराईले धेरै सुधारका काम थालेको बताए ।

‘उहाँमा कुर्सीमा बस्दा केही राम्रा काम गरेर देखाउनुपर्छ भन्ने भावना थियो’–डिसीले भने–‘उहाँका अधुरा सपना पूरा गर्न हामी लागिपर्नेछौं ।’

अभिनेत्री सरिता लामिछानेले अभिनेता र निर्मातासँगै एउटा कुशल अभिभावक गुमाउनुपरेको बताइन् ।

उनले एकैपटक दुईजना असल कलाकार गुमाउनु पर्दा चलचित्र क्षेत्रले अपूरणीय क्षति व्यहोर्नुपरेको बताइन् ।

गत चैत ७ गते भट्टराईलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको थियो । उनका श्रीमती र एक छोरा छन् ।

उनले थुप्रै फिल्ममा अभिनेताको भूमिका निर्वाह गरेका छन् । उनले आफैं निर्माण गरेका अधिकांश फिल्मले सफलता हासिल गरेका छन् ।

भट्टराईले ‘आफ्नो मान्छे’, ‘पाहुना’, ‘कर्मयोद्घा’, ‘देवरबाबु’, ‘छोडी गए पाप लाग्ला’, ‘सो सिम्पल’, ‘यात्रा’लगायतका चलचित्र निर्माण गरेका छन् । रासस