Logo २४ असार २०८३, बुधबार | Thu Jul 9 2026


सिन्धुपाल्चोक दुर्घटनाः ६ जनाको सामूहिक अन्त्येष्टि, चालक सम्पर्कविहीन, श्रीमतीको शव ‘अलपत्र’


0
Shares

विजय नेपाल (इमेज)

सिन्धुपाल्चोक, मंसिर ३० । सिन्धुपाल्चोकमा बस दुर्घटनामा परी मृत्यु भएकामध्ये ६ जनाको सोमबार सामूहिक अन्त्येष्टि गरिएको छ ।

सुनकोसी नदी किनारमा मृतकको अन्त्येष्टि गरिएको हो ।

आइतबार बिहान सुनकोसी गाउँपालिकाको ६ किलोमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७, याङ्लकोटका पाँच र बलेफी गाउँपालिका–५, चिम्लिङका एक गरी ६ जनाको सामूहिक अन्त्येष्टि गरिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।

मृतक अरु ७ जनाको शव ‘पोस्टमार्टम’ सकेर आइतबार साँझ नै परिवारले बुुझेर लगिसकेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा १४ शवको पोस्टमार्टम गरिएको थियो ।

चालक अझै सम्पर्कविहीन, शव ‘अलपत्र’

दुर्घटनाग्रस्त बसका चालक सुमन तामाङ अझैपनि सम्पर्कमा आएका छैनन् ।

चालक तामाङकी श्रीमती सुनिता तामाङकोसमेत दुर्घटनामा मृत्यु भएको थियो । सुनिताको शव अझैपनि परिवारले बुझ्न नआएको प्रहरीले जनाएको छ ।

उनको शव प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमै राखिएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० का चालक तामाङको मोबाइल ‘स्वीच अफ’ रहेको र खोजतलास गर्दासमेत उनी फेला नपरेको प्रहरीको भनाइ छ ।

दोलखाको कालिन्चोकबाट भक्तपुरतर्फ जाँदै गरेको बा२ख ४४६८ नम्बरको ‘रिजर्भ’ बस ६ किलोमा दुर्घटनामा परेको थियो ।

बस सडकबाट करिब १०० मिटर तल खसेको थियो ।

भक्तपुरमा डेरा गरी बस्नेहरु समूह मिलाइ बस रिजर्भ गरी शनिबार दोलखाको कालिन्चोक भगवती मन्दिर दर्शन गर्न गएका थिए । फर्कनेक्रममा दुर्घटनामा परेका हुन् ।

दुर्घटनाको कारण के ?

दुर्घटनाको यकिन कारण खुलिसकेको छैन । तर, तीव्रगति र चालकको लापरबाहीकै कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजेश दाहालले बताए ।

घाइतेहरुले ‘ब्रेकफेल’लगायतका कारण दुर्घटना भएको बताएका छन् ।

तर, प्रहरीले भने त्यो प्राविधिक विषय भएको र अनुसन्धानपछिमात्र निष्कर्षमा पुग्न सकिने जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका अर्का एकजनाको उपचारका क्रममा काठमाडौंको ‘केएमसी’ अस्पतालमा मृत्यु भएको थियो ।

दुर्घटनामा १८ जना घाइते भएका छन् । उनीहरुको धुलिखेल र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।