२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


प्राइम बैंकको ‘बदमासी’: १३ करोडको घर लिलामी गर्दा यसरी सडकमा पुगे काजिराम (भिडियो)


0
Shares

काठमाडौं । सेवा र सुविधालाई मध्यनजर गर्दै मानिसहरुले बैंकबाट ऋण लिने गर्छन् । आफ्नो आय र व्यक्तिगत हैसियत अनुसार बैंकिङ कारोबार गरेका कतिपय ऋणीहरुले ठूलो प्रगति गरेका छन् ।

बैंकको ब्याजदर र सेवा सुविधालाई उपयोग गर्नसके ऋणीहरु डुब्ने अवस्थामा पुग्दैनन् । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने ब्याजदर र प्रक्रिया नबुझ्दा ऋणीहरु ठूलो मारमा पनि पर्ने गरेका उदाहरणहरु छन् ।

तर यहाँ एउटा बैंकको प्रक्रिया र ब्याजदर सबै बुझ्दा बुझदै पनि एक ऋणीको बेहाल हुन पुगेको छ । काठमाडौको माछापोखरी निवासी काजिराम पिया बैंकले आफूलाई सडकमा पुर्‍याएको गुनासो गर्छन् ।

प्राइम बैकले आफ्नो १२–१३ करोडको घर माथि ‘गिद्देनजर’ लगाएर आफुलाइ सडकमा पुर्‍याएको बताउँदै आएका छन् । पियाका अनुसार व्यापारका लागि २०७१ सालमा कित्ता नम्बर २७१ र १७९ मा बनेको साढे पाँच तल्लाको घर धितो राखेर प्राइम कमर्सियल बैक माछापोखरी शाखाबाट साढे तीन करोड रुपैयाँ निकालेको बताउँछन् ।

फेरि पछि उत्तिनै रकम साढे तीन करोड रुपैंयाँ निकाल्दा आफ्नो घर र जग्गाको मुल्यांकन पाँच करोड ८९ लाख ६३ हजार भएको थियो । तर त्यही बैंकले २०७५ साल पुस २५ गते पुनः मूल्यांकन गर्दा १० करोड २० लाख १८ हजार २ सय ६३ रुपैंयाँ गरेको थियो । अहिले उक्त घर र जग्गाको चलनचल्ती मूल्य १३ करोड रुपैंयाँ पुगिसकेको छ ।

तर प्राइम बैकले बदमासी गरेर आफूलाई फसाएको पियाको गुनासो छ । घर लिलाम गर्नुअघि पुनः मुल्याकन नै नगरी पुरानै मूल्यांकनका आधारमा लिलाम गरी राष्ट्र बैकको नीति विपरीत काम गरेको पीडित काजिराम पियाको आरोप छ ।

राष्ट्र बैकको निर्देशिका अनुसार आफ्नो सस्थाको नाममा रहेको गैरबैकिङ्ग सम्पत्तिको लिलाम गर्नुपूर्व स्वतन्त्र मूल्यांकनकर्ताबाट यथार्थपरक मूल्यांकन गराउनुपर्ने भनी उल्लेख गरिएको भएपनि प्राइम बैकले झण्डै ६ बर्ष अघिको धितो लिंदाको मूल्यांकनलाई नै कायम गरी लिलाम गरेको उनी बताउँछन् ।

राष्ट्र बैकको निर्देशिकामा सस्थाले कर्जा असुल गर्दा धितोको प्रचलित बजार मूल्य वा धितो सकार गर्न अघिल्लो दिनसम्मको सम्पूर्ण लेना रकममध्ये जुन कम हुन्छ सोही मुल्यमा मूल्यांकन गर्नुपर्ने छ भनेर उल्लेख गरेको भएपनी प्राइम बैकले त्यसको पालना नगरेको पीडित पियाका कानुन ब्यवसायी अधिवक्त्ता कीर्तिनाथ शर्मा बताउँछन् । 

पिया भन्छन् ,‘प्राइम बैकले गरेको आफ्नो धितोमा रहेको माछापोखरीस्थित घर लिलामी गैरन्यायिक ढङ्गबाट भएको छ ।’ तर कमलपोखरी स्थित प्राइम कमर्सियल बैकको केन्द्रीय कार्यालयका प्रमुखले यसबारे आफू नबोल्ने भन्दै पन्छिए र कानुन ब्यवसायीलाई अघि सारेका थिए ।

धितो लिलामबारे प्राइम बैकका कानुन व्यवसायी राजेश कुमार कार्की  भन्छन्, ‘काजिरामको घर जग्गा प्रकृया पुर्‍याएरै लिलाम गरिएको हो ।’ पीडित पिया भने आफ्नो घर लिलाम गर्दा पुनः मूल्यांकन नगर्नु गैर न्यायिक भएको दाबी गरिरहेका छन् । बैंकका कानुन ब्यवसायीले भने घर जग्गा लिलाम गर्दा पुनः मूल्यांकन गर्नु नपर्ने जिकिर गर्दै आइरहेका छन् ।

नेपाल राष्ट्र बैकका प्रवक्त्ता लक्ष्मीप्रपन्न निरौला भन्छन्, ‘नेपालका सबै बैंकहरु राष्ट्र बैककै निर्देशनमा चल्नुपर्छ, साथै बैंकले ऋणिको धितोमा रहेको घरजग्गा लिलाम गर्नु पहिला पारदर्शी ढङ्गले चलनचल्तीको भाउमा पुनः मूल्यांकन गर्नैपर्छ ।’

कुनै पनि बैक वा बित्तिय संस्थाले नेपाल राष्ट्र बैकको निर्देशन बर्खिलाप गरेर काम गरे नेपाल राष्ट्र बैकको ऐन २०५८ मा भएको व्यवस्था अनुसार कारवाही हुने प्रवक्ता निरौलाको भनाइ छ ।

पीडित कजिराम पियाले बैकले आफूमाथि अन्याय गरेको भन्दै प्राइम कमर्सियल बैकलाई विपक्षी बनाइ काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । साथै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि बैकबिरुद ठगी उजुरी दर्ता गराएका छन । उक्त मुद्दा हाल काठमाडौ जिल्ला अदालतमा बिचाराधीन अवस्थामा छ ।