३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


बस दुर्घटनामा मृत्यु भएका १५ मध्ये १४ जनाको सनाखत


0
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ६ किलोमा भएको बस दुर्घटनामा मृत्यु भएका १५ जनामध्ये १४ जनाको सनाखत भएको छ । एक महिलाको नाम खुलेको छैन ।

दुर्घटनामा दोलखा जिल्ला भिमेश्वर नगरपालिका–९ की ४२ वर्षीया लक्ष्मी श्रेष्ठ, रामेछाप उमाकुण्ड गाउँपालिका–४ प्रितीका २४ वर्षीय महेश तामाङ, काभ्रे बेथानचोक–५ का ३५ वर्षीय रामशरण खत्री र सोही स्थानकी उनकी श्रीमती ३५ वर्षीया मैया खत्री, लिसंखुपाखर गाउँपालिका–४ कि ५३ वर्षीया गंगामाया लामा, जुगल गाउँपालिका–७ याङलकोटकी ७ वर्षीया सबिना तामाङ, सोही ठाउँकी ३० वर्षीया रेश्मा तामाङ, १५ महिनाकी रोशनी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै बलेफी गाउँपालिका–५ चिम्लिङ की ३७ वर्षीया फुलमाया तामाङ र दोलखा शैलुङश्वरी गाउँपालिका फस्कुका १० वर्षीया रञ्जित बस्नेत, रामेछाप सुनपाती ६ कि जुनमाया तामाङ, मञ्जु तामाङ, सुकबहादुर तामाङ, र भत्तपुर सुर्यविनायक ८ कि ३८ वर्षिया चिनु बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी इन्सपेक्टर नवराज न्यौपानेले जानकारी दिए ।

अन्दाजी २४ वर्षीया एक महिलाको सनाखत हुन बाँकी रहेको उनले बताए । घाइतेमध्ये अधिकाशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको खाडीचौर र धुलिखेलअस्पतालमा उपचार भइरहेको छ ।

दोलखाको कालिन्चोकबाट काठमाडौं आउने क्रममा बा ४ ख ४४६८ नम्बरको बस ६ किलो मोडमा दुर्घटना भएको हो । बस आज(आइतबार) बिहान लामो साँघु चरिकोट सडकखण्डमा पर्ने सुनकोशी–७ मा सडकबाट करीब तीन सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । ६ किलो मोडबाट पल्टिएको बस तल सडकमै पुगेको थियो ।

बसमा ३२ जना सवार रहेको प्रहरीले जनाएको छ । बस क्षत विक्षत भएको छ । ब्रेकमा समस्या देखिएको बस चालकले जर्बजस्ती चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस चालक फरार छन् ।