Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


टेलिकम कर्मचारीको आन्दोलन स्थगित


0
Shares

काठमाडौं । साउन पहिलो सातादेखि विभिन्न माग राखेर नेपाल टेलिकमको मुख्यालय घेराउ गर्दै आएका टेलिकमका कर्मचारीले आन्दोलन रोकेका छन् ।

टेलिकमका कर्मचारी र व्यवस्थापनबीच १९ बुँदे सहमति भएसँगै टेलिकममा क्रियाशील तीन वटा ट्रेड युनियनहरुले आजैदेखि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् ।

शनिबार व्यवस्थापनसँग भएको सहमतिलाई अनुमोदन गर्नेदेखि आगामी रणनीति तय गर्न अहिले ट्रेड युनियनहरुको बैठक बसिरहेको छ ।

कम्पनीमा तह ११ मा पाँच वर्ष र तह १० मा आठ वर्ष सेवा अवधि पुगेपछि स्वतः अवकाश हुने व्यवस्था कम्पनीको कर्मचारी विनियमावली, २०७८ मा कायम गर्नेगरी विनियमावली संशोधन गर्न लोकसेवा आयोगमा पत्राचार गर्ने, मन्त्रिपरिषद्बाट कम्पनीको कुनै कर्मचारी प्रबन्ध निर्देशक नियुक्त भएमा नियुक्त भएको मितिदेखि कम्पनीको सेवाबाट स्वतः अवकाश हुने व्यवस्था विनियमावलीबाट हटाउन आयोगलाई लिखित रुपमा पत्राचार गर्ने लगायतका विषयमा सहमति भएको हो ।

नयाँ सेवासुविधाहरु केही नमागेको भए पनि व्यवस्थापनबाट कर्मचारीको वृत्ति विकास संकुचित गर्ने प्रयत्न भएको भन्दै कर्मचारी आन्दोलित हुँदै आएका थिए ।