Logo २४ असार २०८३, बुधबार | Thu Jul 9 2026


सिन्धुपाल्चोक बस दुर्घटनामा १४ को मृत्यु, १८ घाइते, घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर


0
Shares

सिन्धुपाल्चोक, मंसिर २९ । सिन्धुपाल्चोकको ६ किलोमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । १८ जना यात्रु घाइते भएका छन् ।

मृतकमध्ये दोलखा भीमेश्वर नगरपालिकाकी जुनु तामाङको मात्र सनाखत भएको छ । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दोलखाको कालिन्चोकबाट काठमाडौं आउने क्रममा बा ४ ख ४४६८ नम्बरको बस ६ किलो मोडमा दुर्घटना भएको हो ।

बस आज बिहान लामो साँघु चरिकोट सडकखण्डमा पर्ने सुनकोशी–७ मा सडकबाट करीब ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

६ किलो मोडबाट पल्टिएको बस तल सडकमै पुगेको थियो । भक्तपुरबाट हिजो रिजर्भ गरेर कालिन्चोक भगवती मन्दिर दर्शनका लागि गएको बस आज फर्कँदै गर्दा दुर्घटनामा परेको हो ।

बसमा कुल ३२ जना सबार रहेको प्रहरीले जनाएको छ । बस क्षतविक्षत अवस्थामा छ ।

प्रहरी र स्थानीयले घटनास्थलमा उद्दार गरिरहेका छन् । घाइतेहरुलाई खाडीचौर, धुलिखेललगायत अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।