४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


श्रीराम सुगर मिल्स बन्द हुँदै, तीनसय ९५ कर्मचारी बेरोजगार बन्दै, ३७ करोड भुक्तानी नपाउँदा किसान चिन्तित


0
Shares

– सञ्जय कार्की/ ईमेज

रौतहट, मंसिर २९ । २५ वर्षदेखि सञ्चालनमा आएको रौतहटको मध्यभाग गरुडास्थित श्रीराम सुगर मिल्स यस वर्ष सञ्चालनमा नआउने भएपछि उखु किसान मर्कामा परेका छन् ।

किसानको साढे ३७ करोड रुपैयाँ भुक्तानी तिर्न बाँकी रहेकै अवस्थामा मिल बन्द गर्न लागिएको भन्दै कृषकहरु चिन्तित बनेका हुन् ।

विसं २०४९ सालमा स्थापना भएको रौतहटको गरुडास्थित श्रीराम सुगर मिल यो वर्ष सञ्चालन हुने छाँटकाट नदेखिएपछि कृषकहरु चिन्तित बनेका छन् ।

पुरानो भुक्तानी बाँकी रहेको र खेतमा लगाइएको उखु बिक्रीमा समस्या हुने भन्दै कृषकहरु चिन्तित बनेका हुन् ।

यो वर्ष यस क्षेत्रका ८ हजार किसानहरुले करिब ८ हजार विगाहा क्षेत्रफलमा खुट्टी, कार्तिका, माघे प्रजातीको उखु लगाएका छन् ।

उक्त क्षेत्रफलमा लगाइएको उखुको अनुमानित उत्पादन १४ लाख क्वीन्टल हुने र सो बापत ६५ करोड ९६ लाख ८० हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।

मिल्स सञ्चालनमा आउनुअघि मेसिन मर्मतसम्भार गर्नुपर्ने भए पनि यो वर्ष त्यसको कुनै तयारी नगर्दा कृषकहरु निराश बनेको उखु उत्पादक संघ रौतहटका पूर्वअध्यक्ष जयनाथ यादवको भनाइ छ ।

२४ घण्टामा ३० हजार क्रसिङ क्षमता रहेको सो मिल्स स्थापना कालमा नाफामा रहे पनि ५ वर्षयता घाटामा सञ्चालन भइरहेको छ ।

मिलले किसानलाई तिर्न बाँकी रहेको साढे ३७ करोड रुपैयाँ भुक्तानीसहित झण्डै ६३ करोड रुपैयाँ ऋण रहेको छ ।

पुरानो भुक्तानी नपाउँदा पीडित बनेको अवस्थामा खेतको उखु पनि त्यसै खेर जाने कृषक मोहम्मद मजबुल्लाको गुनासो छ ।

पछिल्लो समय मिल्सको क्रसिङसमेत कम हुँदै आएको थियो । १५ देखि २० हजारसम्म क्रसिङ हुन थालेको मिल्समा ११ हजार क्वीन्टल चिनी स्टकमा रहेपनि सो चिनी बिक्री गर्न किसानले रोक लगाएका छन् ।

मिल्सलाई प्रदेश या संघीय सरकारको मातहतमा ल्याएर भए पनि सञ्चालन गर्नुपर्ने कृषकहरुको माग छ । अर्कोतिर यहाँ कार्यरत ३ सय ९५ जना कर्मचारी पनि बेरोजगार बन्ने स्थिति बनेको छ ।