
दिपक घिमिरे/ईमेज:
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भैरहवामा संचालन गर्न लागेको सिद्धार्थ नमुना अटो भिलेज अलपत्र परेको छ ।
नगरपालिकाले अटो भिलेज सञ्चालनका लागि सम्झौता गरे पनि कार्यान्वयन नगर्दा अलपत्र परेको हो ।
यत्रतत्र छरिएका ग्यारेजलाई एकै स्थानमा ल्याई अटो भिलेज सञ्चालन गर्न सिद्धार्थनगर नगरपालिकाले ग्यारेज श्रमिक/व्यवसायीसँग २०७० सालमा सम्झौता गरेको थियो ।
नगरपालिकाको वडा नम्बर ९ स्थित गोनहियामा अटो भिलेज स्थापना गर्ने सहमति भएको थियो ।
तर बेलहिया–बुटवल ६ लेन व्यापारिक मार्ग विस्तार गर्ने क्रममा सडक छेउमा रहेका ठूला व्यवसायीले अटो भिलेज सञ्चालनमा पहल गर्नुको सट्टा अस्थायी रुपमा लुम्बिनी रोडमा व्यवसाय सारे ।
सम्झौता भएको ५ बितिसक्दासमेत अटो भिलेज सञ्चालनमा ल्याउन नगरपालिकाले कुनै चासो नदेखाएको श्रमिकको गुनासो छ ।
करिब ३ सय श्रमिकमध्ये अधिकांशले बैंकबाट ऋण लिएर गोनहियामा करिब १४ करोड रुपैयाँमा एकै स्थानबाट ग्यारेज सञ्चालनका लागि १० विघा जग्गा खरिद गरेका थिए ।
नेपाल अटो मेकानिक्स टे«ड युनियन सिद्धार्थनगरका अध्यक्ष गुमानसिंह सारु मगरले नगरपालिकासँग भएको सम्झौता अनुसार बैंकबाट ऋण लिएर सबैले जग्गा खरिद गरेर भवन बनाए पनि नगरपालिकाले अहिले आनाकानी गरिरहेको गुनासो गरे ।
विद्युत्को अभावमा अटो भिलेज सञ्चालनमा आउन नसक्दा पुनः बजार क्षेत्रमा फर्किनुपरेको व्यवसायीको गुनासो छ ।
नेपाल अटो मेकानिक्स ट्रेड युनियन सिद्धार्थनगरका सचिव दिलबहादुर श्रीषले नगरपालिकाका मेयर हरीप्रसाद अधिकारीका दाई भीम अधिकारीले लुम्बिनी रोडमा ‘मिनी’ अटो भिलेज सञ्चालन गरेका कारण नगरपालिकाले सिद्धार्थ अटो भिलेज सञ्चालनमा ल्याउन नचाहेको आरोप लगाए ।
तर सिद्धार्थनगरका मेयर हरीप्रसाद अधिकारीले अटो भिलेज संचालन गर्न पूर्वाधारहरु निर्माण भइरहे पनि खरिद गरिएको जग्गा व्यक्तिगत भएकाले भविष्यमा समस्या आउन सक्ने तर्फ सचेत रहँदै हतार नगरिएको बताए ।
सिद्धार्थनगरलाई स्वस्थ र व्यवस्थित शहरका रुपमा विकास गर्न नमूना अटो भिलेजले सहयोग गर्ने विश्वास लिइएको भए पनि नगरपालिकाको ढिलासुस्तीका कारण ग्यारेज श्रमिकले गरेको ठूलो लगानीसमेत डुब्ने खतरा देखिँदै गएको छ ।
प्रतिक्रिया दिनुहोस्