२ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 14 2025


‘महिला अधिकारकर्मीहरुलाई हेर्ने दृष्टिकोण नै गलत’ (भिडियो)


0
Shares

मीरा बस्नेत र नवीन स्थापित (इमेज) 

काठमाडौं, मंसिर २८ । महिला हिंसा, महिला अधिकार र विभेदविरुद्ध काम गर्ने अधिकांश महिला अधिकारकर्मीहरू थप बढी संगठित बन्दै गएका छन् ।

तर, महिला अधिकारकर्मीहरुलाई सरकारले कुनै पहिचान नदिँदा उनीहरुमाथि दिन–प्रतिदिन जोखिम बढ्दै गइहेको छ ।

गत आइतबार राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनले पनि नेपालमा मानवअधिकारको अवस्था झन्–झन् बिग्रँदै गएको औंल्याएको छ ।

देशमा दिनानुदिन बलात्कार, हत्याजस्ता जघन्य मानवअधिकार उल्लंघनका घट्ना बढ्दै गएका छन् ।

मानवअधिकार उल्लंघनका घटनामा कमी ल्याउन र पीडितलाई न्याय दिलाउन पुरुष मानवअधिकारर्मीको जति भूमिका छ, त्यति नै महिला अधिकारकर्मीहरुको पनि छ ।

तरपनि अहिलेसम्म उनीहरुले गरेका कामको पहिचान नभएको र राज्यको तर्फबाट पनि कुनै सहयोग प्राप्त नभएको महिला मानवअधिकारकर्मीहरु बताउँछन् ।

महिला मानवअधिकारकर्मी डा. रेणु भण्डारी महिला अधिकारकर्मीहरुलाई हेर्ने दृष्टिकोण नै गलत भएको बताउँछिन् ।

मानवअधिकारको क्षेत्रमा काम गर्ने जो–कोहीले पनि चुनौतीहरुको सामना त गर्नैपर्ने हुन्छ । तर, महिला भएकै कारणले आफूहरुले धेरै समस्याहरुको सामना गर्नुपर्ने महिला मानवअधिकारकर्मी सरस्वती नेपाली बताउँछिन् ।

मानवअधिकारकै क्षेत्रमा काम गर्ने भएपनि आफूहरु नै सुरक्षित नभएको उनको गुनासो छ ।

संविधानले महिलालाई थुप्रै अधिकारहरु दिएपनि महिलाहरुले अझैपनि संविधानले व्यवस्था गरेका अधिकारहरु भने प्राप्त गर्न सकेका छैनन् ।

महिला मानवअधिकारकर्मी श्यामकुमारी साहले महिलाहरुलाई अझैपनि दोस्रो दर्जाको नागरिकको रुपमै हेर्ने गरिएको बताइन् ।

महिला मानवअधिकारकर्मी साह महिला भएकै कारणले आफूहरुले कामकै सिलसिलामा पनि विभेदहरुको सामना गर्नुपरेको बताउँछिन् ।

उनले आफूहरुलाई ज्यानमार्ने धम्कीसमेत आउने गरेको बताउँदै आफूहरु नै सुरक्षित नभएको बताइन् ।

भिडियो हेर्नुहोस्