Logo २४ असार २०८३, बुधबार | Thu Jul 9 2026


धनुषा बम विस्फोटः प्रहरी निरीक्षक दाहालको शव काठमाडौं लगियो


0
Shares

सुनसरी, मंसिर २८ । धनुषामा बम विस्फोट हुँदा ज्यान गुमाएका प्रहरी निरीक्षक अमिरकुमार दाहालको शव काठमाडौं लगिएको छ ।

दाहालको शव परिवारलाई जिम्मा लगाउन नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

शनिबार दिउँसो धरानबाट शववहानमा राखेर शव विराटनगर विमानस्थल लगिएको थियो । त्यहाँबाट सेनाको हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको हो ।

शुक्रबार राति क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरबजारस्थित राजेश्वर साहको घरमा राखिएको बम विस्फोट हुँदा उनी गम्भीर घाइते भएका थिए ।

जनकपुरमा उपचार हुन नसकेपछि धरान ल्याउनेक्रममा उनको बाटोमै मृत्यु भएको थियो । उनी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत् थिए ।

शनिबारै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाहालको शवको पोस्टमार्टम गरिएको थियो ।

संखुवासभाको मादी घर भएका प्रहरी निरीक्षक दाहाल पछिल्लो समय बसाइँ सरी काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ मा बस्दै आएका थिए । उनको परिवार अहिले त्यहीँ छ ।

सो बम विस्फोटमा परी दाहालसहित तीनजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् । घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको छ ।

बम राख्नेको पहिचान भइनसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।