
विनोदसिंह विष्ट (इमेज)
बैतडी, मंसिर २७ । बैतडीसहित सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी जिल्लामा शुक्रबार हिमपात भएको छ ।
दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ, मुस्याचौर, जयपृथ्वी राजमार्गको ढोल्यामोडलगायतका क्षेत्रमा हिमपात भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कमल विष्ट जानकारी दिए ।
बैतडीको सुर्नया गाउँपालिकाको रौलाकेदार, धरमपानी सल्मेमा पनि हिमपात भएको स्थानीय रोशन महराले बताए ।
साथै, ग्वाल्लेक सिगासलगायतका क्षेत्रमा पनि हिमपात भएको जनाइएको छ ।
जनजीवन प्रभावित
हिमपातले चिसो बढेसँगै यहाँको जनजीवन प्रभावित भएको छ ।
विद्यालयको पठनपाठन पनि प्रभावित भएको सुर्नयाका सुरेश महराले बताए । चिसोले बालबालिका र वृद्धवृद्धाहरु बढी प्रभावित भएका छन् ।
किसान हर्षित
लामो समयपछि वर्षासँगै हिमपात हुँदा यहाँका किसान भने खुसी भएका छन् ।
लामो खडेरीपश्चात् हिमपात र वर्षा भएकाले हिउँदे बालीनाली सप्रने दोगडाकेदार गाउँपालिका–३, श्रीकोटका हेमराज गिरीको भनाइ छ ।
गहुँ छरेपश्चात् खडेरीले गहुँ नासिने अवस्था रहेकामा वर्षाले राहत भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्