Logo १७ श्रावण २०८३, आइतबार | Mon Aug 3 2026


‘राष्ट्रिय गौरवका आयोजना द्रूत गतिमा अघि बढाउन ऐन बाधक’


0
Shares

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय गौरवको आयोजनालाई द्रूत गतिमा अघि बढाउन विद्यमान ऐनले नै जटिलता थपिदिएको दावी गरेको छ ।

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा. बुद्धिसागर पौडेलले विद्यमान ऐन संशोधन गरेर अघि बढ्न ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो । मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै प्रवक्ता पौडेलले वन ऐन २०७६ को दफा ४२ संशोधन नगरे राष्ट्रिय गौरवको आयोजनालाई अघि बढाउन सहज नहुने बताउनुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता केशवकुमार शर्माले पनि राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई प्राथमिकताका साथ अघि बढाउन अन्तरमन्त्रालय भित्रै जटिलता देखिएको बताउनुभयो । हुलाकी राजमार्ग निर्माणको काम कोभिडका कारणले ढिलाई भईरहेको उहाँको दाबी थियो ।

समितिका सभापति रामनारायण बिडारीले सम्बन्धित मन्त्रालयका मन्त्री र मुख्य सचिवसहितका सरोकारवाला निकायसँग छलफल गरेर राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढाउन देखिएका समस्या समाधान गरेर अघि बढने बताउनुभयो ।

अन्तर मन्त्रालयबीच बलियो सहकार्य नभई राष्ट्रिय गौरवका आयोजनाहरुमा देखिएका समस्या समाधान गरेर अघि बढन सकिने अवस्था नरहेको बिडारीले बताउनुभयो ।