Logo २४ असार २०८३, बुधबार | Thu Jul 9 2026


टिपर दुर्घटनामा दुईजनाको मृत्यु, दुई घाइते


0
Shares

अपडेट

सिमकोट, मंसिर २६ । हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको बा५ख ५३८४ नम्बरको टिपर हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ को तुम्कोट भीरमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा नाम्खा गाउँपालिका–१ निवासी हेप्कागाउँका २५ वर्षीया सोनाम मिगुर लामा र नाम्खा–४ बस्ने साबेल लामा रहेका छन् ।

मृत्यु भएका दुवैजनाको शव सनाखत भएर आफन्तले बुझेका छन् ।

घाइते हुनेमा टिपरचालक सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका–४ घर भएका २५ वर्षीय कुलमान तामाङ र हुम्लाको नाम्खा गाउँपालिका–१ का ३२ वर्षीया सोनाछेजुन लामा रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रहरी प्रमुख राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

घाइते चालकसहित लामाको अहिले स्थानीय मुचु स्वास्थ्यचौकीमा उपचार भइरहेको उनले जानकारी दिए । टिपर भीरबाट ७०० मिटरभन्दा तल खसेको उनले बताए ।

हिल्सादेखि खाद्यवस्तु र डिजेल बोकेर याल्वाङ्ग जानेक्रममा टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

हुम्लामा बिहीबार बिहानदेखि हिमपात भएका कारणले हिउँमा चिप्लेर दुर्घटनामा भएको हुनसक्ने जिल्ला प्रहरीले आशंका गरेको छ ।

यसअघि, मंसिर ११ गते सल्लीखोलाबाट चामल ओसारिरहेको टिपर सिमकोट, लाग्नामा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । रासस