लहान, मंसिर २६ । मारुती सिमेन्ट उद्योग व्यवस्थापन पक्ष र आन्दोलनरत् मजदुरबीच सहमति नहुँदा विगत तीन दिनदेखि गोलबजार नगरपालिका– ९ निवासी अनिता पासवानको शव लहानस्थित अस्पतालमा राखिएको छ ।
उद्योग व्यवस्थापनको लापरबाहीका कारण उद्योगमा मजदुरी गर्दै आएकी पासवानले आत्महत्या गरेको भन्दै मजदुरले बिहीबार तेस्रो दिन पनि बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुती सिमेन्ट उद्योग बन्द गराएका छन् ।
सिमेन्ट उद्योग व्यवस्थापन पक्षले कामबाट हटाएपछि पासवानले गत मंगलबार बिहान उद्योगनजिकैको फूलबारीमा आत्महत्या गरेकी थिइन् ।
अखिल नेपाल औद्योगिक मजदुर संगठनका सदस्यसमेत रहेकी पासवानले आत्महत्या गरेको थाहा पाएपछि भेला भएका मजदुरले काम बहिस्कार गरी आन्दोलन गर्दै आएका छन् ।
मजदुरहरुको माग सम्बोधन गरी समस्या समाधान गर्न बुधबार साँझ भएको उद्योग व्यवस्थापन र मजदुर प्रतिनिधिबीचको वार्तामा कुनै सहमति नभएपछि बिहीबार पुनः वार्ता हुने जनाइएको छ ।
बुधबारको वार्तामा उद्योग व्यवस्थापन पक्षले तत्काल घटनाको सत्यतथ्य छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने र छानबिन समितिको प्रतिवेदनका आधारमा पुनः वार्ता बसेर समस्या समाधान गर्नुपर्ने अडान लिएपछि कुनै सहमति नभएको अखिल नेपाल मजदुर संगठनका प्रदेश नम्बर–२ का सचिव केदार देवले जानकारी दिए ।
वार्तामा उद्योग व्यवस्थापन पक्षले तत्काल सबै विषयवस्तु एकमुस्टरुपमै सहमति गर्नुपर्ने मजदुर पक्षको अडान रहेको सचिव देवले बताए ।
मारुती सिमेन्ट उद्योगमा कार्यरत् पासवानलाई कामबाट हटाएकाले आत्महत्या गरेको भन्दै कामबाट निकाल्नेलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग मजदुर पक्षको छ ।
माग सम्बोधन नभएसम्म मृतकको शव नउठाउने र आन्दोलन थप चर्काउने मृतक परिवार तथा मजदुरले बताएका छन् । रासस




प्रतिक्रिया दिनुहोस्