
सर्लाही, मंसिर २६ । सागरनाथ वन विकास परियोजनामा करोडौं मूल्यको काठ त्यसै थन्किएको छ ।
वनको स्वामित्वको विषयलाई लिएर लामो समय अन्यौल हुँदा परियोजनामा झण्डै १५ करोड मूल्य बराबरको काठ बिक्री हुन नसकेर थन्किएको हो ।
अख्तियारी नपाउँदा ठूलो परिमाणमा जम्मा गरेर राखिएको काठ बिक्री गर्न नपाएको परियोजनाका प्रमुख देवशमणि त्रिपाठीले जानकारी दिए ।
परियोजनाको जङ्गल क्षेत्रमा गत वर्ष काटिएका पुराना रुखका गोलिया बिक्री हुन सकेको छैन् । सङ्घीय र प्रदेश सरकारबीच स्वामित्वको अन्यौलताले बिक्री गर्न नपाएको काठ परियोजनाको हाताभित्र जम्मा गरेर राखिएको परियोजना प्रमुख त्रिपाठीले बताए ।
काठ बिक्री गर्न नपाउँदा परियोजनामा काट्ने समय भैसकेका नयाँ रुखसमेत काट्न सकिएको छैन् । केन्द्र तथा प्रदेश सरकारबीच लामो समय विवाद चल्दा परियोजनाका कर्मचारी मारमा परेका छन् ।
उनीहरुले केही महिनादेखि तलब सुविधासमेत पाउन सकेका छैनन् । अतिक्रमणले गाँजिएको परियोजनाको अधिकांश वन क्षेत्र भने पछिल्लो समय अतिक्रमणबाट फिर्ता गरिएको छ ।
अब सर्लाहीको बागमती नगरपालिकाको केही क्षेत्र र रौतहटको दुधिअवा क्षेत्रमा केही भू–भाग अतिक्रमणमा रहेको र सो क्षेत्र पनि खाली गराएर वृक्षारोपण गर्ने तयारी भइरहेको परियोजना स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्