Logo २४ असार २०८३, बुधबार | Thu Jul 9 2026


ताप्लेजुङसहितका पूर्वी पहाडी क्षेत्रमा चासोक तङ्नामको रौनक


0
Shares

 -सन्तोष पुर्कुटी/ईमेज

ताप्लेजुङ, मंसिर २६ । किराँत समुदायको बाहुल्यता रहेका ताप्लेजुङसहितका पूर्वी पहाडी क्षेत्रमा चासोक तङ्नामको रौनकताले छोपेको छ ।

प्रकृति पुजक किराँत समुदायले यस पर्वलाई विशेष महत्वका साथ मनाउँदै आइरहेका छन् ।

किराँत समुदायको विशेष पर्व मानिने उधौली अर्थात् न्वागी पुजासहित मनाइने चासोक तङ्नाममा सामुहिक रुपमा पुजाआजा सहितका कार्यक्रम आयोजना गरिन्छ ।

हरेक वर्षको धान्य पुर्णिमाका दिन लिम्बूसहित किराँत समुदायमा पर्ने राईले साकेला, याखाले चासुवा र सुनुवारले फोलस्यादको रुपमा मनाउँछन् ।

लिम्बू समुदायले आदिकालदेखि नै न्वागी पुजा गरी अन्नप्रति सम्मान गर्ने परम्परा छ । धान पाक्ने सिजन कार्तिकदेखि धान्यपूर्णिमासम्म नै पाकेको अन्नबालीलाई थान थापेर पुज्ने र प्रकृति देवीलाई चढाउने गरिन्छ ।

यसलाई ताप्लेजुङमा भने बुधबार र बिहीबार दुईदिनसम्म मनाइने गरिन्छ । किराँत समुदायको परम्परागत भेष–भूषासहित विभिन्न नाचगान र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । 

परम्परागत पर्व र संस्कार संस्कृतिलाई जोगाउन पछिल्लो समयमा विभिन्न संघसस्था पनि सक्रिय  हुन थालेका छन् ।

आफ्नो संस्कार संस्कृतिलाई संरक्षण गर्नका लागि सबै पक्ष संग आव्हान गरेको किराँत याक्थुङ चुम्लुङ केन्द्रीय सदस्य भद्र बोखिमको भनाइ छ ।

आफ्नो संस्कार संस्कृतिलाई मान्ने र जोगाउने जिम्मेवारी नयाँ पुस्तामा थपिँदै गएको अवस्थामा पश्चिमा संस्कृतिले भने यसलाई ओझेलमा पार्न थालेको छ ।

यस विषयमा सम्बन्धित सबैले ध्यान दिनुपर्छ ।