Logo २४ असार २०८३, बुधबार | Thu Jul 9 2026


हिमाली क्षेत्रमा भारी हिमपात हुने, देशैभर चिसो बढ्ने


0
Shares

काठमाडौं, मंसिर २६ । हिजो बेलुकादेखि नेपालको पश्चिमी भूभागबाट न्युन चापीय प्रणालीको प्रवेश भएकाले देशैभरी चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले हिजो बेलुका प्रकाशित गरेको विशेष मौसम बुलेटिनअनुसार न्युन चापीय प्रणाली नेपालको पश्चिमी भूभागबाट नेपाल प्रवेश गरेको र पूर्व सर्ने क्रममा रहेको छ ।

यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ  ।

यो प्रणाली आज अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको छ ।

उक्त प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो प्रणालीका कारण पश्चिमी भूभागका धेरै स्थानहरुमा र मध्य र पूर्वी भूभागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ ।

शनिबारसम्ममा यो प्रणालीको अन्त्य हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुनुका साथै तापक्रममा गिरावट आउने भएकाले सतर्क हुन सर्वसाधारणलाई महाशाखाले अनुरोध गरेको छ ।