-शब्द/तस्वीर: टेकराज गिरी
कन्याम । ‘ग्रीन कार्पेट’ अर्थात डाँडाभरी सुन्दर चियावारी, सुसाइरहेका सल्लाहरु, नागबेली सडक, स्वच्छ हावापानी र रमाइला गाउँलेहरु कन्यामको पहिचान हो ।
त्यतिमात्र होइन हनिमुन मनाउन र प्रेम जोडीहरु चियाबारीमा हराउन कन्याम नै पुग्छन् । प्रकृतिप्रेमीहरु सुस्केरा हाल्न हरिया डाँडातिर उक्लिन्छन् । कवि, गीत र गजलकारहरु कन्यामका डाँडामा बसेर सिर्जना गर्न रुचाउँछन् ।
वास्तवमा इलामको सूर्योदय नगरपालिकामा पर्ने कन्याम साँच्चै मन लोभ्याउने गन्तब्य हो । झापाको चारआलीबाट करिब ३५ किलोमिटर र इलाम सदरमुकामबाट करिब ४५ किलोमिटर पूर्वमा पर्ने कन्याम चिया बगानले धेरैको मन तानेको छ ।

बर्खामा हुस्सु र कुहिरो तथा हिउँदमा आँखाले भ्याएसम्म देखिने चियाबारीले पर्यटकलाई भुल्याउने गर्छ । सूर्योदय दृश्यावलोकनका लागि मिर्मिरे र देउराली डाँडा कन्यामका आकर्षक हुन् ।
जातीय पहिरन लगाएर चियाबारीमा तस्वीर खिच्न र घोडचढीमा रमाउन मानिसहरु कन्याम पुग्ने गर्छन । प्रेमील जोडीदेखि, चिया पारखी र प्रकृतिप्रेमीहरु कन्याम पुग्दा स्वर्गीय आनन्दको अनुभुति गर्छन ।
यही सुरम्य गन्तब्यले पिकनिकका लागि पनि प्रख्यात छ । कातिक–मंसिर र फागुन, चैत–बैशाख पिकनिकेहरुको ओइँरो लाग्छ ।
यतिबेला सेताम्मे टल्किएको कन्चनजंगा हिमाल र नेपाल भारतका फाँटहरु अवलोकन गर्न पर्यटकहरु कन्यामको चियाबगानमा उभिरहेका भेटिन्छन् । चिसो मौसममा आकाश सफचट खुलेर चियाबगान पनि मनमोहक देखिएको छ ।












प्रतिक्रिया दिनुहोस्