
काठमाडौं, मंसिर २४ । गृहमन्त्री रामबहादुर थापाले सरकारले सबै रिक्त संवैधानिक आयोगहरु र संक्रमणकालीन न्याय निरुपणसम्बन्धी दुवै आयोगमा पदाधिकारी नियुक्तिको प्रक्रिया अघि बढाइएको दाबी गरेका छन् ।
७१औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन संशोधनको प्रक्रियमा रहेको बताए ।
उनले मानवअधिकारसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनका लागि सरकारले नियमावली तयार पारिरहेको भन्दै आयोगले गरेका सिफारिसहरु पनि कार्यान्वयनको चरणमा रहेको जिकिर गरे ।
‘अपराध र दन्डहीनतामा कमी आएन’
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले लोकतान्त्रिक व्यवस्थामा पनि देशमा अपराध र दन्डहीनतामा कमी नआएको बताए ।
आयोगले मानवअधिकार उल्लंघनका घटनाहरुमा अनुसन्धान तथा छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिका लागि गरेका सिफारिस अपेक्षितरुपमा कार्यान्वयन नभएको उनले उल्लेख गरे ।
संवैधानिक आयोगहरुमा पदाधिकारीहरु नियुक्त हुन नसक्दा ती आयोगहरुले काम गर्न नसेकेको भन्दै अध्यक्ष शर्माले त्यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए ।
मानवअधिकार आयोगले आयोग परिसरमा कार्यक्रमको आयोजना गरेको हो ।
प्रतिक्रिया दिनुहोस्