२७ माघ २०८१, आइतबार | Sun Feb 9 2025


दूध खपत नहुँदा कुराउनी र घिउ उत्पादन बढ्यो


0
Shares

तेह्रथुम, मंसिर २४ । किसानहरुले उत्पादन गरेको दूध बजारमा खपत नभएपछि कुराउनी र घिउ उत्पादनमा आकर्षित भएका छन् ।

इन्धनको अभावले ढुवानीको समस्या देखाउँदै डेरीले दूध संकलन गर्न छाडेपछि किसानहरुले विकल्पको रुपमा कुराउनी र घिउ उत्पादन गर्न थालेका हुन् ।

म्याङलुङ नगरपालिकाको सुर्केमा रहेको नवजिवन दुग्ध सहकारी संस्थाले किसानले ल्याएका दूधबाट कुराउनी तथा घिउ बनाएर बिक्री गर्न सुरु गरेको छ ।

सहकारी संस्थालाई म्याङलुङ नगरपालिकाले अनुदानमा कुराउनी बनाउने मेसिन उपलब्ध गराएपछि सहकारीले व्यावसायिक रुपमा कुराउनी उत्पादन सुरु गरेको स्थानीय कृषक बताउँछन् ।

यसअघि दुध बिक्री नभएर चिन्तित भएका यहाँका किसानहरुको दुध कुराउनी बनाउन थालेपछि उनीहरुसमेत चिन्ता मुक्त भएका छन् ।

मध्यपहाडी लोकमार्गले समेत छोएको यस सुर्के बजारमा रहेको नवजीवन दुग्ध सहकारी संस्थाले दैनिक १२ देखि १५ केजीसम्म कुराउनी उत्पादन गर्ने गरेको सहकारीका प्रबन्धक बिजेश भट्टराईले बताए ।

स्वास्थ्यका लागि समेत लाभदायक मानिने कुराउनी यस संस्थाले जापानिज प्रविधिद्वारा उच्च गुणस्तरको तयार गर्दै आएको छ ।

कोशेलीको रुपमा समेत प्रख्यात रहेको कुराउनी किन्ने ग्राहकहरुको सरकारी संस्थामा नै भीड लाग्ने गरेको छ ।

कुराउनी बनाउनका लागि सहकारीले दुध खरिद गर्न थालेपछि कृषकहरुको ढुक्कको आम्दानीको श्रोत बनेको छ ।