Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


तीन करोडमा निर्माण भएको पार्क हस्तान्तरण नहुँदै भत्कियो


0
Shares

– विराज रोस्यारा/ईमेज 

कैलाली , मंसिर २४ । सघन सहरी विकास कार्यक्रमअन्तर्गत धनगढीमा पौने तीन करोड रुपैयाँको लागतमा निर्माण गरिएको कनरी पार्क हस्तान्तरण नहुँदै भत्किन थालेको छ ।

धनगढी उपमहानगरपालिका–१५ मा निर्माण भएको कनरी पार्क हस्तान्त्रण नहुँदै भत्किन थालेको हो । एक वर्षभित्र निर्माण गर्नुपर्ने सम्झौतासहित २०७४ असार ३० ठेक्का भएको पार्कको समय सीमाभन्दा ४ महिनाअघि काम सम्पन्न भएपनि अहिलेसम्म हस्तान्तरण भएको छैन ।

निर्माण सम्पन्न भएको ९ महिना पुगिसक्दा समेत अहिलेसम्म हस्तान्तरणको प्रक्रिया अगाडि बढेको छैन । पार्कभित्रका २ वटा पोखरीको टायल बाहिरी संरचना टुटफुट भएको छ ।

पार्क निर्माणपछि रोजगारीको वातावरण सृजना हुने आशामा बसेका स्थानीयवासी पार्क हस्तान्त्रण नहुँदै टुटफुट हुन थालेपछि चिन्तित बनेका छन् ।

सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइले सघन सहरी विकास कार्यक्रमअन्तर्गत पार्क बनाएको थियो ।

धनगढी उपमहानगरपालिकाले औपचारिक कार्यक्रम गरेरै पार्कको उद्घाटन गर्ने र स्वामित्व ग्रहण गर्ने बताएपछि हस्तान्तरण हुन बाँकी रहेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइका ईन्जिनियर तथा कनरी पार्कका साईड ईन्चार्ज झंक थापाको भनाइ छ ।

पार्कभित्र भएको टुटफुटलाई पनि मर्मत गरिने इन्चार्ज थापाको भनाइ छ । पार्कमा पानीको व्यवस्थापन, पूर्वतर्फ पर्खाल र २ वटा पिकनिकस्थलका लागि यो वर्ष थप ५० लाख रुपैयाँको बजेट आएको जनाइएको छ ।