Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


बोर्डद्वारा १ खर्ब ३६ अर्बको लगानी स्वीकृत, ४ खर्बको लगानी प्रक्रियामा


0
Shares

काठमाडौं । लगानी बोर्डले गत वर्ष मात्रै एक खर्ब ३६ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदनमा उक्त जानकारी उल्लेख गरिएको छ ।

करिब ४ खर्ब बराबरको लगानी स्वीकृति हुने प्रक्रियामा रहेको समेत बोर्डले प्रतिवेदनमा उल्लेख गरेको छ । बोर्डले करिब एक खर्ब ५० अर्ब रुपैयाँ लगानीको ६ सय ७९ मेगावाट अनुमानित क्षमताको तल्लो अरुण जलविद्युत् परियोजना विकासका लागि छनोट गरिएको विकासकर्तासँग समझदारी गरी सर्वेक्षण अनुमतिपत्र समेत जारी भएको बताइएको छ ।

सम्झौता अनुसार बोर्डले गत एक वर्षको अवधिमा ठूला पूर्वाधार परियोजनाको लगानी स्वीकृति, परियोजना स्वीकृति, परियोजना कार्यान्वयन तथा निर्माणमा सहजिकरण, लगानी प्रवद्र्धन तथा संस्थागत विकास लगायतका क्षेत्रमा हासिल गरेका महत्वपूर्ण प्रगतिको बारेमा उल्लेख गरिएको छ ।

बोर्डबाट सहजीकरण भइरहेका अरुण तेस्रो जलविद्युत् परियोजना, ह्वासिन सिमेन्ट लगायतका परियोजनाको निर्माण प्रगति उल्लेख्य रहेको दावी गरिएको छ । दमक औद्योगिक पार्कलगायत दाङ सिमेन्ट, सम्राट सिमेन्ट परियोजना सम्झौताका चरणमा रहेको भन्दै कार्यालयको संस्थागत विकास र नीतिगत सुधारका क्षेत्रमा उल्लेख्य प्रगति भएको दावी गरिएको छ ।

खासगरी कार्यालयको रणनीतिक योजना तर्जुमा, व्यवसायिक योजना, कार्य सञ्चालनका कार्यविधिहरू तर्जुमा, ठूला परियोजनाका लागि परियोजना बैंक तयारी, वेभमा आधारित एकल विन्दु सेवा केन्द्र सञ्चालनको तयारी लगायतका कार्यले कार्यालयको कामलाई पारदर्शी र प्रभावकारी बनाउनुका साथै कार्यालयलाई स्पष्ट दिशाबोध समेत गरेको उल्लेख गरिएको छ ।

Skip This