Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


शैक्षिक गुणस्तर बृद्धि भएपछि सामुदायिक विद्यालयमा आकर्षण बढ्यो


0
Shares

-प्रकाश लम्साल/ईमेज

बारा । नेपाली र अंग्रेजी दुवै माध्यममा पढाइ सुरु गरेसँगै बारामा सामुदायिक विद्यालयतर्फको आकर्षण बढ्दै गएको छ ।

कम मूल्यमै गुणस्तरीय शिक्षा दिन थालेपछि निजी विद्यालय छोडाएर समेत सामुदायिकमा भर्ना हुने क्रम बढेको हो ।

बाराका करिब एक दर्जन सरकारी विद्यालयमा नर्सरीदेखि नै अंग्रेजी  र नेपाली माध्यममा पढाइ हुन थालेपछि अन्य विद्यालयले पनि त्यसको अनुकरण गर्न थालेका छन् ।

अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट पठनपाठन सञ्चालन गरेपछि प्रत्येक वर्ष विद्यार्थी थपिने क्रम बढ्दै गएको हो ।

नमूना विद्यालय सिमरा, गौरीशंकर माध्यमिक निजगढ, पथलैयालगायतका विद्यालयमा विद्यार्थीको  चाप बढेको हो ।

सामुदायिक विद्यालयतर्फ बढ्दै गएको आकर्षणले निजी विद्यालय संचालक भने चिन्तित बन्न थालेका छन् ।

निजीस्तरबाट सञ्चालित विद्यालय कतिपय बन्द भइसकेका छन् भने कुनैमा विद्यार्थी संख्या निराशाजनक रुपमा घट्दै गएको छ ।

प्रदेशमै उत्कृष्ट मानिएको निजगढको गौरीशंकर माध्यमिक विद्यालयमा विद्यार्थीको चाप थेग्नै सकस हुने गरेको छ ।

पथलैया विद्यालयका प्रधानाध्यापक शम्भु मण्डल निजी विद्यालयबाट विद्यार्थी शोषणमा परेको देखेर अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेको बताउँछन् ।

उक्त विद्यालयले नर्सरीदेखि कक्षा ५ सम्म अंग्रेजी र ६ देखि १० सम्म अंग्रेजी तथा नेपाली दुवै माध्यमबाट पठनपाठन सुरु गरेको  छ । यसबाट चर्को शुल्क तिरेर पढाउन नसक्नेहरु पनि लाभान्वित बनेका छन् ।

विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न कम्प्युटर, स्मार्ट बोड, टेलीभिजन, प्रोजेक्टरलगायतका सामग्रीमार्फत् पठपाठन गराई गुणस्तरीय शिक्षा दिन सामुदायिक विद्यालयको प्रतिस्पर्धा चलेको देखिन्छ ।

मुलुकका अधिकांश सरकारी विद्यालयमा स्रोत साधन हुँदाहुँदै पनि पढाइ अस्तव्यस्त भइरहेको अवस्थामा यसबाट पनि शिक्षा लिन सकिन्छ ।