१ फाल्गुन २०८१, बिहिबार | Fri Feb 14 2025


घाइते चन्दलाई थप उपचारका लागि काठमाडौं ल्याइयो, कोहलपुरमा अनिश्चितकालका लागि कर्फ्यू (भिडियो)


0
Shares

नेपालगन्ज । आइतबार विहान कोहलपुरमा ट्रकले किचेर घाइते भएकी छात्रा प्रकृति चन्दलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

गम्भीर घाइते कोहलपुर नगरपालिका–१० की छात्रा  चन्दलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो ।

अन्य घाइतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

आन्दोलनमा उत्रिएका विद्याथीले इलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र रहेको क्यान्टिनमा आगजनीसमेत गरेका थिए ।

झडपमा इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही पनि घाइते भएका छन् ।

स्थिति अनियन्त्रित बन्दै गएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गर्दै कोहलपुरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरेको छ ।

अवस्था तनावपूर्ण बनेपछि कोहलपुरका उद्योगी व्यवसायीले संयमता अपनाउन अपील गरेका छन् ।

थप क्षति नहोस् भन्दै संयमता अपनाउन प्रहरी र आन्दोलनकारीलाई अपिल गरिएको कोहलपुरका व्यवसायी देवानन्द अर्यालले जानकारी दिए ।

आफ्ना बुबासँग मोटरसाइकलमा विद्यालय आएकी छात्रा चन्दलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको थियो ।

विद्यालय प्राङ्गण नजिकै भएको दुर्घटनालगत्तै आक्रोशित बनेका विद्यार्थीले ट्रकमा आगजनी गरेका थिए ।

स्थिति तनावपूर्ण बन्दै गएपछि दिउसो ३ः०० बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले जानकारी दिएका छन् ।