Logo २४ असार २०८३, बुधबार | Thu Jul 9 2026


पशुपतिनाथ मन्दिर परिसरभित्रै जगन्नाथपुरीको मूर्ति राख्ने प्रयास


0
Shares

-नरेन्द्र मानन्धर

काठमाडौं । काठमाडौं पवित्र वाग्मति नदी किनारमा रहेको पशुपतिनाथ(स्थानीय पुरानो नाम लखु महा द्यः)हिन्दुहरुको आराध्यदेव हुन् ।

काठमाडौं उपत्यका (नेपाल मण्डल) प्राचिनकाल देखि तन्त्र, मन्त्र शैव, शाक्त र बज्रयानी बौद्धहरुको केन्द्र र उर्वर भूमि समेत हो ।

यहाँ विभिन्न समयमा ऋषिमुनी र सिद्ध बौद्ध गुरुहरुको समेत ध्यान तपस्या र अभ्यास गर्दै आएका छन् ।

नरोपा र त्रिलोपा जस्ता सिद्ध बौद्ध गुरुहरुले पवित्र वाग्मति नदी किनारको गुफामा ध्यान र अभ्यास समेत गरेको बताइन्छ ।

विभिन्न कालखण्ड देखि शैव, शाक्त, वैष्णव, बज्रयानी बौद्ध र गणपथ शिख लगायतले आ–आफ्नै परम्परा र विधि अनुसार पशुपतिको शिवलिंगमा पुज्दै आएका छन् । यहाँ आफ्नै किसिमको मौलिक परम्परा र संस्कृतिको विकास हुँदै आएको छ ।

उदाहरणका लागि प्रत्येक वर्ष मुखाष्टमीका दिन पञ्चबुद्ध रहेको मुकुट पहिर्‍याएर पर्व नै मनाइन्छ भने हरेक दिन बैदिक र तान्त्रिक विधि विधान अनुसार नित्य पुजा चलिनै रहेको छ ।

यसैबीच वैष्णव सम्प्रदायको भारतको जगन्नाथ पुरीको मुर्ति पशुपति मन्दिर परिसर भित्र राख्ने प्रयास भएको छ ।

जगन्नाथ पुरी पनि हिन्दुहरुले मान्ने मध्येको देव तीर्थ हो । तर हिन्दुहरुको आस्था हो भन्दै पशुपतिनाथ परिसर भित्र राख्न खोजिएकामा भने पुरातत्वविद, सम्पदाबचाउ अभियन्ता लगायतले आपत्ति जनाएका छन् ।

पशुपति क्षेत्र युनेस्को विश्व सम्पदा सूचिमा रहेको छ । पशुपतिनाथ परिसर भित्रै जगन्नाथ पुरीको मन्दिर स्थापना गर्नु प्राचिन स्मारक संरक्षण ऐन र विश्व सम्पदाको मान्यता विपरित हुने सम्पदाविदहरु बताउँछन् ।

भारतको जगन्नाथ पुरीको मुल पुजारीले पशुपति विकास कोषलाई काठको करिब एक फिटको मूर्ति दिएको र मूर्ति कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बुझेका थिए । उक्त मूर्ति वासुकी मन्दिर भन्दा तलतिर बायाँ तर्फ सिद्धेश्वर भित्र राख्न खोजेको र नित्य पूजा वासुकीको पूजा गर्ने भट्टबाट गराउने तयारी समेत भैसकेको स्रोतको दावी छ ।

कसैसँग सल्लाह नगरी मूर्ति स्थापना गर्न खोजेपछि स्थानीयले आपत्ति जनाएका छन् । यस पछि भने हाललाई अर्को व्यवस्था नभए सम्म जगन्नाथको मूर्ति मूल भट्टको जिम्मामा राखिएको छ ।

प्रदेश सांसद एवं कोष पूर्वपदाधिकारी नरोत्तम वैद्यले मौलिक परम्परा र संस्कृति भएको ठाउँमा जसले पनि जे पायो त्यही गर्न नमिल्ने भन्दै संस्कृति मन्त्री र सचिवलाई समेत जानकारी नगराई व्यक्तिगत  रुपमा मूर्ति स्थापना गर्न लागेकोमा आपत्ति जनाइएको बताए ।

वैद्यले प्राचिन स्मारक संरक्षण ऐन र विश्व सम्पदाको मान्यता विपरित यस्ता खाले गतिविधि नरोक्ने हो भने पशुपतिको अस्तित्वमा नै नकारात्मक असर पर्ने पनि बताए ।

सम्पदा बचाउ अभियन्ता कानुन व्यवसायी सञ्जय अधिकारीले थाहै नदिई सुटुक्क मूर्ति स्थापना गर्न खोजेकामा पुरातत्व विभाग र सम्पदा अभियन्ताहरुको विरोधका कारण हाललाई रोकिए पनि सबै सजग हुनपर्ने बताए ।

कोषका सदस्य सचिव डा. प्रदिप ढकालले पनि अनौपचारिक रुपमा सो मूर्ति पशुपति मन्दिरको पूर्वपट्टी राख्न कुरा चलेको स्वीकार्दै औपचारीक निर्णय नभएको बताए । जगन्नाथ पुरीको मूर्ति भने कोषलाई उपहार स्वरुप आएको पनि उनले जानकारी दिए । 

मूर्ति स्थापना पूर्व नै विषय सार्वजनिक भएपछि भने कोषका सदस्य सचिव ढकालले अबउ क्त स्थानमा जगन्नाथ पुरीको मूर्ति स्थापना गर्न नदिने जनाएको छ । 

सम्पदा बचाउ अभियन्ता आलोक सिद्धी तुलाधरले आफनै मौलिक धार्मिक र सांस्कृतिक सम्पदाहरु संरक्षण गर्न नसक्ने तर नयाँ संरचनाहरु थप्दै लैजानै हो भने भविष्यमा नेपालको पहिचान खोज्नु पर्ने टिप्प्णी गरे । समयमा नै सम्पदा संरक्षणमा प्राथमिकता दिन संवेदनशिल हुन उनले सरकारलाई आग्रह समेत गरे । 

जगन्नाथ पनि हिन्दुहरुको आस्थाकै रुप भएकाले उक्त मूर्ति पशुपति क्षेत्र भन्दा बाहिर कुनै स्थानमा राख्दा उपयुक्त हुन्छ ।