१८ जेष्ठ २०८२, आइतबार | Sun Jun 1 2025


सुजिता प्रकरणः भण्डारी परिवारलाई सामाजिक बहिष्कार गरिएको भन्दै सम्बन्ध सुमधुर गराइदिन सुजिताका ठुलोबुबाको माग


0
Shares

डाेलराज रानाभाट

चितवन । राप्ती नगरपालिका ३ प्रगतिटोल चितवनकी २३ वर्षीय सुजिता भण्डारीको परिवारलाई सामाजिक बहिष्कार गरिएको भन्दै सम्बन्ध सुमधुर गराइदिन माग गरिएको छ । असार ११ गते वेपत्ता भएकी भण्डारीको असार २० गते घरदेखि करिव ५ किलोमिटर टाढाको सामुदायिक जंगलमा शव फेला परेको थियो ।

मृतक भण्डारीको ठूलो बुबा कोमलनाथ भण्डारीले आज पत्रकार सम्मेलन गर्दै गाउँलेहरुले कुनै पनि कुरामा सहयोग नगरेको भन्दै सम्वन्ध सुधार गराइदिन सम्वन्धित पक्षसँग माग गर्नुभयो । राप्ती ३ का गाउँलेहरुले मृतक सुजिता भण्डारीको हत्यारा पत्ता नलागेसम्म शव नबुझ्न भनिरहेका थिए । तर गाउँलेहरुको कुरालाई अटेर गरी शव बुझेर अन्त्यष्टी गरिएको भन्दै गाउँलेहरुले असहयोग गर्दै आएको भण्डारीले बताउनुभयो ।

शव जलाउने देखि काजक्रिया र अहिलेसम्म पनि सुजिताको परिवारलाई गाउँलेहरुले असहयोग गरिरहेको उहाँले बताउनुभयो । साउन २९ गते मात्रै सुजिताको वुवा यज्ञ बिरामी हुँदापनि खैरनी ९ डाँडागाउँबाट आफू गएर अस्पताल लगेको बताउनुभयो । साथै आफूलाई पनि घटना मिलाउन भूमिका खेलेको आरोप लागेको भन्दै आफू अझैपनि सुजिताको हत्यानै भएको र प्रहरीको अनुसन्धान फितलो भएकोमा अडिग रहेको बताउनुभयो ।

शव बुझ्नेवारे आफूलाई सुजिताका माइती पक्षले झुठो बोलेको बताउनुभयो । माइती पक्षका लक्ष्मी खतिवडा, शान्ती निरौला र किशोर निरौलाले गाउँलेहरु समेत शव बुझ्न सहमत भएका छन् भनी झुठो बोलेको अहिले पत्तो पाएको बताउँदै आफू सुजिता भण्डारीले न्याय पाउनुपर्ने पक्षमा रहेको प्रष्ट पार्नुभयो ।

माइती पक्षका तीन जनाले गाउँलेहरु समेत शव बुझ्न सहमत भएको भनेर समाजमा आगो लगाउने काम गरेको तर सम्वन्ध सुधार गर्न कुनै भूमिका नखेलेको उहाँको आरोप छ ।

आफू अभियुक्त सचिन भण्डारीको काइलो बुवा र मृतक भण्डारीको ठूलो बुवा भएकोले घटना मिलाउन लागेको भन्ने आरोप झुठो भएको भन्दै प्रहरीले बढिमा १५ दिनभित्र भिसेरा रिपोर्ट आउँछ भनेपनि अहिले सम्म किन नदिएको भन्दै प्रश्न गर्नुभयो ।

प्रहरीको अनुसन्धान अझै गहिरिनुपर्ने र घटनामा संलग्न हुनेलाई कडा भन्दा कडा कारवाही गर्न माग समेत गर्नुभयो । गाउँलेहरु असहमत भइरहदा माइती पक्षले झुठो बोलेर किन शव बुझ्न हतार गरे यसमा समेत छानबिन हुनुपर्ने माग भण्डारीको छ ।

मृतक सुजिता भण्डारीको साउन ४ गते देवघाटमा अन्त्यष्टी गरिएको थियो । आत्महत्या दुरुत्साहन मुद्दामा भण्डारीको दाई नाता पर्ने साइलोे वुवाका छोरा सचिन भण्डारी पक्राउ परेका छन् । उनलाई अदालतमा पेश गर्ने तयारी भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।