२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


फेवातालको पानीमुनि पनि निजी जग्गा


0
Shares

पोखरा । सरकारी सम्पत्ति व्यक्तिका नाममा सारिएको अर्को भद्दा उदाहरण हो पोखराको फेवाताल अतिक्रमण ।

वि.सं. ०१४ को सर्भेअनुसार २२ हजार रोपनी क्षेत्रफलमा फैलिएको फेवातालमा अहिले नौ हजार नौ सय ५५ रोपनी जग्गा मात्रै छ ।

नौ हजार ३५ रोपनी जग्गा अभिलेखबाटै गायब भएको छ । अभिलेखमा भएको २२ सय ३२ रोपनी जग्गा अतिक्रमण भएको छ ।

जसमध्ये १६ सय ९२ रोपनी जग्गा पानीमुनि छ । यसरी पानीमुनि भएको ६७३ कित्ता जग्गाको लालपुर्जा लिएर व्यक्तिहरू बसेका छन् ।

जग्गा फिर्ता लिन सरकारले गरेको पहलभन्दा अतिक्रमणकारीको अवरोध बलियो छ । त्यसैले फेवाताल बेसहारा भएको छ ।

सन् १९५७ अर्थात् वि.सं. ०१४ मा सर्भे अफ इन्डियाले फेवातालको नाप लिएर नक्सा बनाएको थियो । जसअनुसार फेवातालको क्षेत्रफल २२ हजार रोपनी थियो । त्यस्तै, इटालियन सर्भेयरले नाप्दा पनि तालको क्षेत्रफल यति नै थियो ।

भारतको सहयोगमा ०१७ सालमा निर्मित पार्दी बाँध ०३१ सालमा फुट्यो र फेवाको आधाभन्दा धेरै पानी बगेर गयो ।

कतिसम्म भने बाराही मन्दिर पनि हिँडेरै आवतजावत गर्न सक्ने अवस्था बन्यो । बाराही जाने बाटोमा कतिपय मान्छेले गाडी पार्किङ गर्थे भने बालबालिका कबड्डी खेल्थे ।

त्यही मौकामा पहुँचवालाले जग्गा कब्जा गर्न थाले । ०३३र३४ मा नापी हुँदा उनीहरूले जग्गा दर्ता पनि गराए ।

यसरी फेवाको १६९२ रोपनी जग्गा अतिक्रमण गरेर ६७३ कित्तामा व्यक्तिका नाममा लालपूर्जा बन्यो ।

तर, युएनडिपीको सहयोगमा ०४१ सालमा बाँध पुनर्निर्माण भएपछि तालमा फेरि पानी भरियो र अतिक्रमण भएको जग्गा डुब्यो ।

फेवाताल आफ्नो सतहमा फर्कियो तर सरकारले आफ्नो दायित्व पूरा नगर्दा यो सम्पूर्ण जग्गा अहिलेसम्म व्यक्तिका नाममा छ । नयाँ पत्रिका दैनिकबाट