Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दले ज्ञान प्राप्त गरेको ‘खत्रक्पा’ संरक्षणको पर्खाइमा


0
Shares

प्रकाश नेपाल

इलाम । किराँत धार्मिक पर्यटकीय स्थलको रूपमा चिनिएको ‘खत्रक्पा’ पूर्वाधारको अभावमा जिर्ण बन्दै गएको छ । देउमाई नगरपालिकाको ९ नम्बर वडामा माई र देउमाई खोलाको किनारमा रहेको खत्रक्पामा पुग्ने तीर्थालुले स्थान अभावमा खोलाको किनारमा खुल्लै ठाउँमा पुजाआजालगायतका धार्मिक कार्य गर्दै आएका छन् ।

महागुरू फाल्गुनन्दले ज्ञान प्राप्त गरेको खत्रक्पामा पुगेर पुजाआजा गरेमा चिताएको पुग्ने विश्वासका साथ बर्सेनी हजारौ किराँत धर्मावलम्बी पुग्ने गरे पनि सहज रूपमा धार्मिक कार्य गर्न नसकेको .संरक्षण सम्बर्धन समिति खत्रक्पाका अध्यक्ष काजीमान लिङ्देनको भनाइ छ ।

खत्रक्पामा पुजाका लागि मन्दिर र भक्तजनलाई बस्ने ठाउँको अभाव हुँदा पनि स्थानीय सरकारको ध्यान पुगेको छैन । किराँत समुदायमा धर्मदर्शनसँगै समाज सुधारको काम गरेका फाल्गुनन्दले बाल्यकालमा खत्रक्पामा रहेको लामपातेको रूखको फेदमा आध्यात्मिक शिक्षा लिएका थिए । उनले यसै स्थानमा किराँत सिरिजंगा लिपि र भाषाको ज्ञान प्राप्त गरेको जानकारहरूको भनाइ छ ।

धार्मिक आस्थाले हेरिने माईखोलाको किनारमा अवस्थित खत्रक्पा माई, देउमाई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाको संगम स्थल पनि हो । यहाँ वर्षेनी माघे संक्रान्तिको अवसरमा धार्मिक मेलासमेत लाग्ने गरेको छ ।

माई नगरपालिका र इलाम बजारबाट जीतपुर नवमी बजारहुँदै सवारी साधनमा पूग्न सकिने यस ठाउँको विकास गर्न सरकारी लगानी आवश्यक रहेको देउमाई नगरपालिका– ९ का वडा सदस्य हेमराज लिम्बु बताउनु हुन्छ । खोलाको जोखिम खेपिरहेको खत्रक्पालाई संरक्षण गर्न आवश्यक छ तर भौगोलिक रूपमा अप्ठयारो ठाउँ रहेकोले संरक्षणका लागि सरकारी तवरबाट नै खर्च गर्नु पर्ने देखिन्छ ।

Skip This