१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


सरकारले बजारीकरणमा ध्यान नदिंदा गोलभेंडाले बजार पाएन


0
Shares

कविराज घिमिरे/ईमेज:

धनकुटा । धनकुटामा गोलभेंडाको व्यवसायिक उत्पादन थालिएको करिब दुई दशक पूरा भएको छ ।

उत्पादन बढे पनि गोलभेंडाको बजारीकरणमा समस्या भने भएको छ । सरकारले उत्पादनमा प्रोत्साहन गरे पनि बजारीकरणमा कुनै चासो नदिंदा किसान समस्यामा परेका हुन् ।

आर्थिक बर्ष २०७३/७४ को तथ्याङ्कलाई हेर्ने हो भने धनकुटामा उत्पादन हुने तरकारीबाली मध्ये सबैभन्दा बढी गोलभेडा उत्पादन हुँदै आएको छ ।

यसले गर्दा गोलभेंडा धनकुटाका कृषकको मुख्य आम्दानीको स्रोत नै बन्न पुगेको छ ।

अघिल्लो बर्ष जिल्लामा एक अर्ब ३० करोड रुपैयाँ बराबरको गोलभेंडा उत्पादन भएको थियो । उत्पादन भएको तरकारी बाली मध्ये यो सबैभन्दा बढि रकम हो ।

तर यो बर्ष भने बढि उत्पादन भएकै कारण धनकुटामा उत्पादन भएको गोलभेंडा बिक्रि हुन नसक्दा धेरै कृषकको बारीमै कुहिएको छ ।

त्यसो त सरकारले पनि गोलभेंडाका उत्पादनको लागि बिभिन्न अनुदानका कार्यक्रम अघि सारे पनि यसको बजारीकरण तथा मुल्य श्रृँखलाको लागि कुनै पनि कार्यक्रम अघि सारेको छैन ।

सरकारले उत्पादनको लागि बिभिन्न अनुदानका कार्यक्रम संगै बजारीकरणको लागि पनि कार्यक्रम अघि सार्नु पर्ने ब्यापारी उपेन्द्र बुढाथोकी बताउँछन् ।

गोलभेंडाले मुल्य नपाउनुको मुख्य कारण बजारीकरण नै हो ।

केहि बर्ष अघिसम्म यो सिजनमा धनकुटामा मात्र उत्पादन हुने गोलभेडा अहिले धनकुटा जस्तै हावापानी भएका पहाडी जिल्लामा उत्तिकै मात्रमा उत्पादन हुने गरेको छ ।

उत्पादन बढि, बिदेशी बजारमा निकासिको समस्या, भारतीय गोलभेंडा नेपाली बजारमा भित्रिनु, कच्चा पदार्थको रुपमा प्रयोग गर्न नसक्नु तथा मुल्य श्रृखंलाका कार्य गर्न नसक्दा गोलभेंडामा ब्यापक समस्या आएको हो ।

यसको ब्यवस्थापनको लागि बैज्ञानिक खेति संगै गोलभेंडालाई कच्चा पदार्थको रुपमा प्रयोग गरिने उद्योगको बिकास गर्नुपर्ने, न्युनतम मुल्य निर्धारण, भारत निकासीमा सहज हुन सके यसमा समस्या नआउने कृषि बिज्ञ जीवन राईको भनाई छ ।

सरकारले स्थानीयको सहकार्य मुल्य बृद्धि श्रृखंला, गोलभेडालाई कच्चापदार्थको रुपमा प्रयोग हुने उद्योगको स्थापना तथा भारत निकासीमा सहजिकरण गरिनुपर्ने स्थानीय कृषक अजित राईको भनाई छ ।

गतवर्ष यही सिजनमा गोलभेडा प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्म बिक्री गरेको किसानले यो बर्ष प्रतिकिलो ५ रुपैयाँ पनि मुल्य पाएका छैनन् ।

सामान्यतया प्रति किलो १५ रुपैयाँ भन्दा माथि मुल्य पाँउदा मात्र लगानी उठ्ने कृषक बताउंछन् ।

सरकारले कृषि क्षेत्रमा उत्पादनको लागि प्रोत्साहन गर्ने तर बजारीकरणको लागि कुनै चासो नदिइदा यो समस्या उत्पन्न भएको हो ।

त्यसैले सरकार तथा सम्बन्धित निकायले उत्पादनको लागि प्रोत्साहन गर्न संगै बजारीकरण तथा मुल्य बृद्धि श्रृखलाको कार्य तर्फ पनि ध्यान दिन आवश्यक छ