४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025


औपचारिक कार्यक्रमले लैंगिक हिंसा कम भएन, विभिन्न बहानामा हिंसा सहन बाध्य


0
Shares

-डिबी विष्ट/ईमेज

बझाङ, मंसिर २१ ।  देशैभर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । तर लैंगिक आधारमा हुने हिंसाहरुमा खासै कमी आउन सकेको छैन ।

अभियानमा औपचारिक कार्यक्रम चलाइए पनि यसले व्यावहारिक रुपमा खासै असर पार्न सकेको छैन । फरक लिंग भएकै आधारमा विभिन्न किसिमका भेदभाव र हिंसात्मक क्रियाकलापमा उल्लेख्य सुधार हुन सकिरहेको छैन ।

बझाङ बाजुरालगायतका जिल्लामा बलात्कार, यौनिक अल्पसंख्यकलाई हेयका दृष्टिले हेरिनु, छोरा र छोरीमा भेदभावपूर्ण व्यवहार, असमान ज्याला, घरेलु हिंसालगायतका हिंसात्मक गतिविधि व्याप्त छन् ।

जसबाट पुरुषहरुभन्दा बढी महिलाहरु नै प्रताडित बन्दै आइरहेका छन् । परापूर्व कालदेखि चलिआएका संस्कार र परम्परालाई भेदभावपूर्ण ढंगले अभ्यास गरिएपछि समाजमा त्यसको नकारात्मक असर परेको देखिन्छ ।

जसमध्ये छोरा र छोरीलाई असमान व्यवहार गर्ने चलन संस्कारको रुपमा स्थापित भएकाले पनि यसको धङ्धङी कायमै छ । छोरा भए वंश हुने र छोरी भए वंश नास हुने भन्दै पछिल्लो समय भ्रूण पहिचान गरेर हत्या गर्ने गरेको बझाङको जयपृथ्वी नगरपालिकाकी महिला शाखा प्रमुख मीना रेग्मीको भनाइ छ ।

तर कतिपय परिवारमा भने छोराछोरीलाई समान व्यवहार गर्ने गरिएको छ । जयपृथ्वी नगपालिकाकी शान्ति अवस्थीको बुझाइमा यो भेदभाव परिवर्तन गर्न सबैभन्दा पहिले आफ्नै घरबाट सुरुवात गर्नुपर्छ ।

चेतनाको कमी, सचेतनामूलक कार्यक्रम औपचारिकतामा सीमित तथा गलत परम्पराका कारण लैंगिक हिंसा भइरहेका छन् ।

उसो त लैंगिक हिंसाबाट छोराछोरीमा विभेद पुरुषभन्दा महिलाले नै गर्ने भएकाले पनि अझै प्रभावकारी रुपमा चेतना फैलाउनुपर्ने बझाङको विथ्थडचिर गाउँपालिकाकी उपाध्यक्ष जानकी बोहोरा बताउँछिन् ।

लैंगिक हिंसा अन्त्यका लागि चलाइने यस्ता कार्यक्रम प्रचारमुखी तथा कर्मकाण्डी मात्र भएको र यसले खासै उल्लेख्य परिणाम दिन नसकेको गुनासो पनि आइरहेको छ । यसमा सरकारका प्रतिनिधि र अधिकारकर्मीले विचार पुर्‍याउनुपर्ने देखिन्छ ।