
प्रकाश मैनाली (इमेज)
सर्लाही, मंसिर २० । चालू ‘सिजन’का लागि उखुको मूल्य निर्धारण नहुँदा सर्लाहीसहित उखुखेती हुने तराईका जिल्लाका किसान अन्योलमा परेका छन् ।
उखु काट्ने समय सुरु हुन लाग्दासमेत सरकारले यस वर्षका लागि उखुको मूल्य तोक्न सकेको छैन ।
अन्योलका बीच कतिपय किसानले चिनी मिलबाट बेलैमा भुक्तानी नपाउने समस्याले गर्दा सस्तो मूल्यमा सख्खर उत्पादन गर्ने क्रसर उद्योगमा उखु बेच्न थालेका छन् ।
अधिकांश किसान भने मूल्य कायम भएपछि चिनी उद्योगमा उखु बिक्री गर्ने सोंचमा रहेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए ।
मूल्य कायम भएर चिनी उद्योग सन्चालनमा ढिलाइ भए यस वर्ष पनि किसानको उखु खेतमै सुक्ने अवस्था आउनसक्ने मैनालीको भनाइ छ ।
उखुको मूल्य निर्धारणमा हरेक वर्ष यस्तै झमेला हुने गरेको किसानको दुखेसो छ ।
यसरी मूल्य कायम भएपछि पनि किसानले सहमतिअनुसार बेलैमा भुक्तानी पाउन सकेका हुँदैनन् ।
सर्लाहीको अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहले अझैपनि किसानले उखु बिक्री गरेवापत् अघिल्ला वर्षको भुक्तानी दिएका छैनन् ।
लामो समयसम्म उखु बिक्री गरेको पैसा नपाउँदा किसानमा नैराश्यता बढेको महासंघका अध्यक्ष मैनालीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्