१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


विद्युत् लाइन विस्तार भएको दुई वर्ष भइसक्दा पनि विजुली बलेन


0
Shares

बिराज रोस्यारा/ईमेज:

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका १७ डमैलीयामा २ वर्ष अघि विद्युतको लाइन विस्तार हुँदा खुसी भएका स्थानीय अहिलेसम्म पनि बत्ती बाल्न नपाएपछि दुखित भएका छन् ।

गाउँभरी विजुलीको तार तानेको भए पनि सम्वन्धित निकायको वेवास्ताका कारण बत्ती बाल्न नपाएको स्थानीयको गुनासो छ ।

धनगढी बजारबाट करिब १८ किलोमिटरको दू्रिमा रहेको डमौलियामा विद्युत लाईन विस्तार भएको २ बर्षभन्दा बढी भईसक्दा पनि अहिलेसम्म संचालन हुन सकेको छैन ।

२ वर्ष अगाडि विद्युत तार तानिएको भएपनि अहिलेसम्म बत्ती बाल्न नपाएको स्थानीयको गुनासो छ । २ वर्षदेखि नै स्थानीयले विद्युत पोल र तार हेरेर चित्त बुझाउनु परेको छ ।

बत्ती नहुँदा यहाँका बासिन्दाले सौर्य उर्जा र टुकीको भरमा गुजारा गर्दै आएका छन् ।

जाडो याममा घाम नलागेको बेला सोलारको बत्ती पनि नबल्ने बताउँदै स्थानीय मायादेवी चौधरीले सोलारले काम नगरेको बेला अँध्यारोमै पनि बस्नु पर्ने बताउँछन् ।

यो वर्ष गाउँमा बत्ति बल्छ भन्ने कुरा त्यहाँका स्थानीयले हरेक बर्ष सुन्ने गरेका छन् ।

सघं, प्रदेश र स्थानीय तहको निर्वाचनका समयमा नेताहरुले गाउँमा चाडै बत्ती बल्ने आश्वासन दिएको भएपनि अझै बल्न सकेको छैन ।

निर्वाचन सम्पन्न भएसँगै आश्वासन पनि हराएको र आफूहरु अध्यारोमा बस्न बाध्य बनेको स्थानीय फलिराम चौधरीको भनाइ छ ।

साविकको उर्मा गाउँ विकास समितिमा पर्ने डमौलीया अहिले धनगढी उपमहानगरपालिका भित्र रहेको छ ।

उपमहानगरपालिका भएपछि सुविधा पाइने कुरा सुनेको बताउँदै डमौलीयाकी अन्जना चौधरीले गाउँमा अझै बत्ति बाल्न नपाएको दुखेसो गरे ।

उपमहानगरपालिका बनेपछि पनि डमौलीयामा कुनैपनि विकास नभएको गुनासो चौधरीको छ ।

डमौलियामा ४ सय घर परिवारको बसोबास छ ।

धनगढी उपमहानगरपालिकामै रहेको उक्त गाउँ स्वास्थ्य, यातायात, विद्युत लगायतका आधारभूत सेवा उपभोग गर्न नपाउँदा ‘बत्ती मुनीको अँध्यारो’ जस्तै बनेको छ ।