-विजय नेपाल/ ईमेज
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकास्थित बदलाङ गाउँका देवबहादुर थापा हेलिकोप्टर बनाउने कार्यमा जुटिरहेका छन् ।
आफ्नै खर्चमा आवश्यक सामग्री जुटाएर हेलिकोप्टर बनाइरहेका उनलाई थप सामग्री खरिदका लागि भने आर्थिक अभाव देखिएको छ ।
चौतारा साँगाचोकगढीको बददाङ गाउँका ५६ वर्षीय देवबहादुर थापा साधारण लेखपढ गरेका व्यक्ति हुन् ।
सानैदेखि जिज्ञासु स्वभावका थापाले दुई वर्षअघिदेखि हेलिकोप्टर बनाउन सुरु गरेका छन् ।
उनले बनाएको हेलिकोप्टरले केही आकार ग्रहण गरे आर्थिक अभावका कारण पूर्णता पाएको छैन ।
परिवारको न्यून आयस्रोत भएकाले थप स्रोत साधन जुटाउन उनलाई मुस्किल परेको छ ।
पहिलेदेखि नै सृजनशील काम गरेर देखाउने गरेका थापाले यसअघि पनि सानो आकारको होलिकोप्टर बनाएर उडाइसकेको बताउँछन् ।
आफूले बनाएकोे हेलिकोप्टर उडेपछि उनलाई ठूलो आकारको पनि बनाउन सकिने लागेर अहिले यसमा जुटिरहेका हुन् ।
घडी, रेडियोजस्ता सामानहरु बनाउने गरेका उनले हेलिकोप्टर बनाउन कसैको प्राविधिक सहयोग भने नलिएको दाबी गर्छन् ।
१२ वर्ष नेपाली सेनामा जागिर गरेका उनले त्यसबेला टेलिफोन, राइफललगायत उपकरण बनाउने गरेका थिए ।
कुनै संघसस्था तथा सरकारी निकायबाट आर्थिक सहयोगको अपेक्षा गरेका थापाले केही सहयोग पाए छोटो समयमै यो हेलिकोप्टर उडाएर देखाइदिने दाबी गरेका छन् ।

झण्डै तीन लाख रुपैयाँ खर्च गरिसकेको बताउने उनले आफूसँग केही रकमको अभाव रहेको बताउँछन् ।
फलामको रड वेइल्डिङ गरेर हेलिकोप्टरको आकार दिएका उनले तीन जनासम्म मान्छे बस्न मिल्ने बनाएका छन् । यो हेलिकोप्टर ब्याट्रीको सहयोगले उडाउन सक्ने उनको भनाइ छ ।
थापाले एक्लै हेलिकोप्टर बनाएपछि स्थानीयवासी पनि अचम्मित छन् । कतैबाट आर्थिक सहयोग पाएमा उनले हेलिकोप्टर उडाउन सक्ने स्थानीय इन्द्रबहादुर थापाको भनाइ छ ।
रकम अभाव भएपछि उनले साविकको जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालयमा सहयोगको अपिल पनि गरेका थिए ।
हालको वडा कार्यालयबाट अध्यक्ष, सचिवलगायतले पनि हेलिकोप्टरको अवलोकन गरिसकेका छन् । उनीहरुले सहयोग गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कतैबाट सहयोग नभएको उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्