
काठमाडौं, साउन २६ । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओलीले चपाउँदा चपाउँदा सरकारको जिब्रोमा रगत आइसक्यो होला भन्दै सरकारले हालै सार्वजनिक गरेका कार्यक्रम गन्तव्यहीन रहेको टिप्पणी गर्नुभएको छ ।
प्रधानमन्त्री पद गुमाएपछि पहिलो पटक प्रतिनिधि सभामा बोल्दै ओलीले सरकारको न्यूनतम साझा कार्यक्रममा कांग्रेसको अनुहार नदेखिएको भन्दै थुप्रै प्रश्न उठाउनुभयो ।
ओलीले प्रश्न गर्नुभयो, ‘सरकारको कार्यक्रममा एमसीसी बारे किन लेखिएन ? यस्तै गठबन्धनको सरकार हुँदा पहिले एमसीसी गर्नुभएको थियो । खै त कार्यक्रममा एमसीसी ? देखिन । छैन कतै । केपी ओलीले एमसीसी पारित गर्ने भनेको विषय खोजी खोजी वातावरण बनाउन खोज्ने ? एमसीसी के गर्नुहुन्छ ? प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ ? जनताले जान्न चाहेको छ ? १६५ को सबल जत्थाले के भन्छ यसबारेमा ? के गर्छ सरकारले ? सरकार त जस्केलाबाट छिरियो छिरियो सबै कुरामा जस्केला छिराउन खोज्ने ? त्यो सम्भव हुन्न ।’
सरकारले खुट्टा कमाएको आरोप लगाउँदै ओलीले भन्नुभयो, ‘लिम्पियाधुरा, कालापानी समस्या ? कसरी भयो समस्या ? वार्ता गरेर फिर्ता ल्याउँछु किन भन्न सक्नुभएन ? त्यो नेपालको पवित्र भूभाग हो । अभिन्न भूभाग हो । कसरी समस्या हो ? हाम्रो भूभाग हामी फिर्ता ल्याउँछौं किन भन्न नसकेको ? खुट्टा कमाउने कस्ले बनायो ? अघिल्लो सरकारलाई आरोप लगाएको होइन । बरु त्यो सरकारले त आँटका साथ नक्शा छाप्यो, संविधानको अंग बनायो । भारतसँग संवाद गर्यो । अहिलेको सरकार के गर्दै छ ? फिर्ता लिनोस प्रधानमन्त्रीजी, हाम्रो भूभाग । छाड्ने अधिकार कसैलाई छैन । तपाईंहरुले ल्याउन नसके हामी छौं, डेढ वर्षपछि हामी ल्याउँछौं ।’
छिमेकीसँग सीमा समस्या भनिएको छ, कुन कुन छिमेकीसँग सीमामा समस्या हो भन्दै उहाँले प्रश्न गर्नुभयो, ‘किन डराएको ? चपाउँदा चपाउँदा जिब्रो पनि रगत आइसक्यो होला ? असमान सन्धि भनेको कुन कुन हो ? ठोस तोकेर किन बोल्न नसकेको ? को कोसँग कहाँ कहाँ समस्या छ ?’
प्रतिक्रिया दिनुहोस्