Logo १९ कार्तिक २०८२, बुधबार | Thu Nov 6 2025


बलात्कारपछि हत्याको घटनाका चार सन्दिग्ध ‘प्रहरी इन्काउन्टर’मा मृत्यु


0
Shares

काठमाडौं । दक्षिण भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार सन्दिग्ध व्यक्तिहरूको ‘प्रहरी इन्काउन्टर’ मा मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

उनीहरूलाई प्रहरीले बुधवार आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसपछि उनीहरूलाई १४ दिनका लागि न्यायिक हिरासतमा राखिएको थियो ।

तेलङ्गाना प्रहरीका एक वरिष्ठ अधिकारीले बताएअनुसार शुक्रवार बिहान तीन बजेतिर उनीहरूको एउटा ‘भिडन्त’मा मृत्यु भएको हो ।

घटनास्थल हैदराबादबाट ५० किलोमिटर पर रहेको बताइएको छ । चारै जनालाई प्रहरीले पीडित महिलाको जलेको शव भेटिएको स्थानमा लगेर अनुसन्धान गर्न खोजेको हैदराबादका प्रहरी प्रमुख भीसी सज्जनारले बीबीसी तेलुगूलाई बताएका छन् ।

त्यहाँ उनीहरूले आफूमाथि आक्रमण गर्न खोजेपछि प्रतिकार गरेको र भिडन्त भएको प्रहरीको दाबी छ ।

प्रहरीको बन्दुक खोस्न र भाग्न खोजेकाले गोली हानिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घटनामा दुई सुरक्षाकर्मी पनि घाइते भएका छन् ।

गत साता ती पशुचिकित्सकको बलात्कारपछि हत्या भएपछि भारतमा चर्को आक्रोश उत्पन्न भएको थियो ।(वीवीसी नेपाली सेवाबाट)