किशोरजंग थापा (इमेज)
काठमाडौं, मंसिर १९ । नेपाली सांगीतिक क्षेत्रमा सर्वाधिक रुचाइएका गायक हुन्, स्वरसम्राट नारायणगोपाल ।
करिब तीन दशकको सांगीतिक यात्राका क्रममा उनको उम्दा गायकीले उनका हरेक गीत उत्तिकै कालजयी छन् ।
२९औं स्मृति दिवस मनाइरहँदा पनि नारायणगोपालका गीतको कर्णप्रियतामा कुनै कमी छैन ।
नारायणगोपालको निधन भएको २८ वर्ष बितेको छ । २० को दशकबाट औपचारिक गायन सुरु गरेका उनका गीत ७० को दशकमा आइपुग्दा पनि उत्तिकै मिठास, जीवन्त लाग्छन् ।
शब्द–शब्द तौलिएका रचना र संगीतबाट बुनिएका गीत अनि ओजस्वी आवाजले नारायणगोपालका गीत सुमधुर छन्, आज पर्यन्त ।
प्रेम, ‘रोमान्स’देखि विरह, बेदना अनि लोक, आधुनिकदेखि राष्ट्रिय गीत, गीतिनाटकका असंख्य गीत स्रोताको ढुकढुकी बनिरहे । जसका कारण नारायणगोपाल स्वरसम्राटको उपमाबाट कहलिन पुगे ।
वि.सं. १९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा नारायणगोपालको जन्म भएको थियो ।
प्रसिद्ध सितारवादक बाबु आशागोपाल गुरुवाचार्यले छोरा आफ्नै पदचापमा अगाडि बढोस् भन्ने चाहन्थे । तर, उनी होमिए सुगम संगीतको महासागरमा, २०१६ सालमा ।
नारायणगोपाल रेडियो नेपालमा पहिलोपटकमा स्वर परीक्षामा असफल भएका थिए । तर, जब संगीतमा डुबुल्की मार्दै अगाडि बढ्न थाले, उनलाई रोक्नसक्ने केही भएन । आखिर सरस्वतीको वरदान थियो, नारायणगोपालको गलामा ।
दार्जिलिङकी पेमला लामासँग २०२७ सालमा नारायणगोपालले प्रेमविवाह गरेका थिए । तर, उनीहरुका सन्तान भएनन् । तर, यसको अभाव पूर्तिमा साथ दिने माध्यम उनका आफ्नै गीत–संगीत बने ।
नारायणगोपालको निधनपछि नारायणगोपाल स्मृति कोष स्थापना गरियो, उनको सांगीतिक सपना पूरा गर्ने उद्देश्यले ।
‘गीत गंगा’ बनाउने सोच पहिलादेखि नै थियो कोषको । तर, अहिले आएरमात्र यसले सार्थकता पाएको छ ।

उनले छोडेर गएको महाराजगन्जस्थित निवास परिसरमै उनको ‘सुरमय सपना’ गीत गंगा निर्माणको बिहीबार शिलान्यास भएको छ ।

कला, संस्कृतिलाई स्थानीयस्तरमै संरक्षण गर्नुपर्ने मान्यतालाई स्थापित गर्न स्थानीय सरकारले ‘गीत गंगा’को निर्माण गर्ने लक्ष्य लिएपनि नारायणगोपाललाई चाहने हजारौं संगीतप्रेमीले यसमा जोडिने कोषको विश्वास छ ।
नारायणगोपाल आज हामी माझ छैनन् । २०४७ साल मंसिर १९ गते उनको निधन भयो । निधनको २८ वर्ष बितिसक्दा पनि उनका गीत रेडियो र टेलिभिजनमा अहिले पनि धेरै बज्नेको सूचीमा पर्दछन् ।
स्वरसम्राट नारायणगोपाल सयौं गीत–संगीतमार्फत् बाँचिरहेका छन्, गुञ्जिरहनेछन् ।
भिडियो हेर्नुहोस्





प्रतिक्रिया दिनुहोस्