६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


आन्दोलनरत् मेडिकल विद्यार्थीहरुले परीक्षा बहिस्कार गर्ने, प्रवेशपत्र जलाए


0
Shares

काठमाडौं, मंसिर १८ । मेडिकल कलेजहरुले अवैधानिकरुपमा बढी शुल्क लिएको विरोधमा आन्दोलनरत् विद्यार्थीहरुले प्रथम वर्षको परीक्षा बहिस्कार गर्ने भएका छन् ।

बिहीबार (भोलि)देखि सुरु हुने एमबीबीएस, बीडीएस, बीएसी नर्सिङ, बीएनएस, बीफार्मेसी, बीपीएच, बीएफएलटी र बीएमआइटी प्रथम वर्षको परीक्षा बहिस्कार गर्ने भएका हुन् ।

चितवन मेडिकल कलेज, भैरहवाको युनिर्भसल मेडिकल कलेज, जनकपुरको जानकी मेडिकल कलेज र वीरगन्जको नेसनल मेडिकल कलेजका विद्यार्थीहरुले परीक्षा बहिस्कार गर्ने भएका हुन् ।

चितवन मेडिकल कलेजका विद्यार्थीले बुधबार परीक्षाको प्रवेशपत्रसमेत जलाएका छन् ।

मेडिकल कलेजहरुले अवैधानिकरुपमा लिएको शुल्क फिर्ता गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले शुल्क फिर्ता नभएसम्म परीक्षामा सामेल नहुने घोषणा पनि गरेका छन् ।

शुल्क फिर्ताको विषयमा सरकारले यही मंसिर १० गते मेडिकल कलेज सन्चालकहरुसँग दुईबुँदे सम्झौता गरेको थियो ।

विद्यार्थीको मागलाई सम्बोधन नगरी सहमति गरिएको भन्दै विद्यार्थीहरुले आन्दोलन जारी राखेका छन् ।