
रुपन्देही, मंसिर १८ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बाग्लुङको बडिगाड गाउँपालिका–७ भिमगिठेमा भएको दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
बुधबार शोक विज्ञप्ति जारी गर्दै उनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
गुल्मीको इस्माबाट बाग्लुङको निसीतर्फ जाँदै गरेको लु १ ज ५२१९ नम्बरको जीप मङ्गलबार बागलुङको बडिगाड गाउँपालिका–७ भिमगिठेमा दुर्घटना हुँदा १४ यात्रुको निधन भएको, एक बेपत्ता र तीन गम्भीर घाइते भएको खबरले स्तब्ध बनाएको जनाउँदै मुख्यमन्त्री पोखरेलले बेपत्ताको खोजी कार्यमा प्रहरीलाई सघाउन बडिगाड तटिय क्षेत्रका बासिन्दालाई हार्दिक अपिल गरेका छन् ।
“दिनप्रतिदिन बढिरहेका सडक दुर्घटनाले नागरिकको ज्यान जोखिममा पर्दै गएको छ, बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न सरकार संवेदनशील छ”, विज्ञप्तिमा भनिएको छ, “सडकको क्षमताभन्दा धेरै यातायातका साधनको आवागमन, चालकको लापरवाही, सवारीसाधनको अवस्थालगायत विविध कारणले दुर्घटना भइरहेकाले दुर्घटना न्यूनीकरणका लागि सबै पक्ष संवेदनशील हुन आवश्यक छ ।”
मुख्यमन्त्री पोखरेलले दुर्घटनाको कारण पत्ता लगाएर आगामी दिनमा त्यस्ता कमजोरी हुन नदिन सबै पक्षको सहयोग आवश्यक रहेको जनाए ।
उनले प्रदेश सरकारले दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा कार्यक्रम अघि बढाएको जनाउँदै यो अभियानलाई सफल बनाउन स्थानीय तह, प्रहरी, यातायात व्यवसायी, मजदूरलगायत सबै सरोकारवाला निकायको एकताबद्ध र सार्थक पहलकदमी आवश्यक रहेको उल्लेख गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्