१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


‘साग’ ट्रायथलनको खेल सकियो, नेपालको खातामा दुई स्वर्ण


0
Shares

पोखरा, मंसिर १८ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् ट्रायथलनको खेल बुधबार सकिएको छ ।

पोखरामा सम्पन्न ट्रायथलनको पाँचओटा स्वर्णपदक भिडन्तमा नेपाल र भारतले दुई/दुई तथा श्रीलंकाले एक स्वर्णपदक जितेको छ ।

नेपालका लागि ट्रायथलन महिलातर्फको स्प्रिन्ट विधामा सोनी गुरुङ र दुआथलन पुरुषतर्फको स्प्रिन्ट विधामा हिमाल टमटाले एक/एक स्वर्णपदक दिलाएका हुन् ।

ट्रायथलनमा नेपालले दुई स्वर्ण, तीन रजत र एक कास्यपदक जितेको छ ।

नेपाल, भारत र श्रीलंकाका २६ खेलाडीले भाग लिएको ट्रायथलनको दुआथलनमा लक्ष्मण मल्ल र सोही विधाको महिलातर्फ हुमी बुढामगरले रजतपदक जिते ।

त्यस्तै, सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापामगर र वसन्त थारुको टिमले मिक्स टिम रिले ट्रायथलनमा रजतपदक जितेको छ ।

त्यस्तै, पुरुषतर्फको स्प्रिन्ट विधाको ट्रायथलनमा वसन्त थारुले कास्यपदक जिते ।

नेपालले ६ पदक जित्दा भारतले दुई स्वर्ण, दुई रजत र एक कास्य गरी पाँच तथा श्रीलंकाले एक स्वर्ण र तीन कास्य गरी चार पदक जितेको छ ।