Logo ५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026


कांग्रेसका संस्थापनइतरका जिल्ला सभापतिहरुको भेला साउन २५ मा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतरका जिल्ला सभापतिहरुको भेला बोलाइएको छ ।

आगामी २५ गतेका लागि संस्थापन इतरका जिल्ला सभापतिहरुको भेला काठमाडौंमा बोलाएको सिन्धुपाल्चोकका कांग्रेस जिल्ला सभापति विकास लामाले जानकारी दिनुभयो ।

क्रियाशील विवादका कारण कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित भएको बेलामा संस्थापनइतरका जिल्ला सभापतिहरुको भेला डाकिएको हो ।

भेलाले संस्थापनइतरबाट एउटै उम्मेदवार हुनुपर्ने, अधिवेशनको सुनिश्चितता गर्नुपर्ने, क्रियाशील सदस्यहरुको विवरण तुरुन्त सार्वजनिक गरेर जिल्ला पठाउनुपर्ने, क्रियाशीलमा धाँधली भएको भए सच्याउन समय दिनुपर्ने जस्ता विषयमा छलफल गरि दबाब दिने उद्देश्यले भेला डाकिएको सभापति लामाले जानकारी दिनुभयो । ‘कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित हुँदै गएको छ, महाधिवेशन समयमै गर्नका लागि दबाब दिने हाम्रो मुख्य उद्देश्य हो’, लामाले भन्नुभयो ।

२५ गते जिल्ला सभापतिहरुको भेलापछि २६ गते संस्थापनइतरका शीर्ष नेतालाई भेट्ने कार्यक्रम जिल्ला सभापतिहरुको छ । ‘सबै नेतालाई एकै ठाउँमा राखेर एकमात्र उम्मेदवार हुन हामी दबाब दिन्छौं’ लामाले भन्नुभयो, ‘त्यसपछि संस्थापन पक्षलाई महाधिवेशनको सुनिश्चितता गर्न दबाब दिनेछौं ।’